भदौ २५, भियतनाम । भियतनाममा शक्तिशाली चक्रवात यागीका कारण कम्तिमा ६० जनाको मृत्यु भएको छ । उक्त चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा भएको थियो । जसले ठूलो क्षति पूर्याएको छ ।
बाढीले वस्तीहरूमा क्षति पुर्याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आँधी शुक्रबार भियतनाम पुगेको थियो । त्यसपछि आएको बाढी, पहिरो र डुबानका कारण ठूलो संख्यामा जनधनको क्षति भएको हो ।
उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ । काओ बङ्ग प्रान्तमा बर्षापछि आएको पहिरोले सोमबार २० जना सवार बस बगाएको छ । फु थो प्रान्तमा सोमबार जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ ।
पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेका थिए । जसमा १३ जना बेपत्ता भएको र नदीमा फसेका केहीलाई उद्धार गरिएको छ ।
यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो । देशको मौसम विज्ञान विभागले अझै पनि वर्षाले बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी जारी गरेको छ ।
आँधीपछि परेको बर्षाले आएको बाढी र पहिरोको कारण क्वाङ निन्ह र हाइफोङ प्रान्तमा कम्तिका ३० लाख मानिसहरू बिजुलीविहीन भएका छन् । बढी प्रभावित हाइफोङ क्षेत्रका लागि ४६ लाख अमेरिकी डलरको सहयोग तथा राहत प्याकेज स्वीकृत गरेको छ ।
यागी जस्ता भयानक आँधीहरू जलवायु परिवर्तनका कारण बलियो हुँदै गएको तथा तातो समुद्री पानीले आँधीबेहरीलाई थप उर्जा दिँदा हावाको गति बढ्ने र भारी वर्षा हुने क्रम बढेको ‘अर्थ अब्जरभेटरी अफ सिङ्गापुर’का निर्देशक बेन्जामिन होर्टनले बताएका छन् ।