• आश्विन १ २०८१, मंगलवार

श्री एयरलाइन्सले एउटा टिकटमा अर्को टिकट निःशुल्क दिने

भाद्र २४ २०८१, सोमबार

काठमाडौँ ।  निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ-पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने जनाएको छ ।

एयरलाइन्सले आगामी असोज ४ गतेसम्म काठमाडौँ–पोखरा विमानमार्फत यात्रा गर्दा एउटा टिकट सित्तैमा दिने भएको हो ।

एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिनुभयो ।

“पोखरा–काठमाडौँ गन्तव्यमा हवाई यात्रुको चहल पहल बढाउन तथा पर्यटन प्रवर्दका लागि यो अफर ल्याएका हौँ, यसबाट थोरै भएपनि एयरलाइन्सको गतिविधि बढ्ने र पर्यटन क्षेत्रमा पनि केही राहत मिल्ने विश्वास लिएका छौँ ।”

आसोज ४ गतेसम्म टिकट खरिद गर्नेले उक्त अफर पाउनेछन् । खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्नेछ । श्री एयरको आन्तरिक उडानमा फिक्स्ड विङतर्फ १० विमान र आठ रोटर (हेलिकप्टर) छन् ।

कम्पनीसँग सीआरजे र बम्बार्डियर ड्यास-८-क्यू-४०० विमान छन् । आन्तरिक उडानतर्फ श्री एयरलाइन्सले पछिल्लो समय विमान थपेर गन्तव्य विस्तार गरिरहेको छ ।

कम्पनीले काठमाडौँबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा पर्वतीय उडान (माउन्टेन फ्लाईट) सञ्चालन गर्दै आएको छ ।