• आश्विन १ २०८१, मंगलवार

९० मिनेटमा सूर्य उदाउने र अस्ताउने अन्तरिक्ष

भाद्र २३ २०८१, आईतवार

मानिसको दैनिकी फेरिन थालिसकेको छ । स्वर्गको परिकल्पना गरिने अन्तरिक्ष अहिले यात्राको मार्ग बनिरहेको छ । अन्तरिक्षमा अन्तरिक्ष यान उडान र अवतरणका लागि स्पेस स्टेशन बनिसकेको छ ।

यो स्टेशनमा पुगेका अन्तरिक्ष यात्रीले पृथ्वीको दैनिक जीवनभन्दा नौलो अनुभूति गर्दछन् । अन्तरिक्षमा ९० मिनेट समयको अन्तरालमा सूर्य अस्ताउने र उदाउने गर्छ । अन्तरिक्षयात्रीका लागि यो सौर्यचक्र अनौठो लाग्छ । यो अनौठोपन केही दिनका लागि अन्तरिक्षमा पुगेका मानिसका लागि रमाइलो र अविष्मरणीय क्षण चाहिँ हुन्छ ।

आफंैमा कौतुहलतापूर्ण अन्तरिक्ष यात्रा त्यसमा पनि अनौठो अनुभूति ! अन्तरिक्ष यात्रा अहिले ट्रायलमा छ । त्यसैले यो जोखिमपूर्ण पनि छ । पृथ्वीमा नियमितता पाइसकेका यात्रामा पनि हरेक क्षण जोखिम बेहोर्नै पर्छ । त्यसमाथि अन्तरिक्ष यात्राले नियमितता पाइसकेको पनि छैन ।

अन्तरिक्षमा रहेको इन्टरनेश्नल स्पेस स्टेशनले पृथ्वीको फन्को लगाउँछ । तर त्यहाँ रहेका मानिसलाई भने एकै ठाउँमा रहिरहेको अनुभूति हुन्छ । मानौ त्यो स्टेशन स्थिर रूपमा रहेको छ । पृथ्वीमा आफ्ना देश, घर र परिवेश स्थिर रहे झैं भान परिरहेको हुन्छ ।

हालका दिनमा अमेरिकीलगायतका धनीमानी तथा पहुँचवाला देशका र त्यसमा पनि धनी र पहुँचवाला मानिस अन्तरिक्ष यात्रामा रमाइरहेका छन् । विश्वका अरू मानिस पनि यात्राको लाइनमा छन् । तर पनि पालो कुर्न र वर्षौं पर्खनुपर्छ ।

अहिले यो अन्तरिक्ष यात्रामा एक नियमित आकस्मिकता आइपरेको छ । पृथ्वीमा बाटोको यात्रामा गाडीको टायर पञ्चर भएर गाडी रोकिए झैं एक घटना घटिसकेको छ । अन्तरिक्ष यात्रामा यस्तो घटना अबका दिनमा नियमित यात्राका रूपमा आउने देखिन्छ पनि ।

त्यो हो, अमेरिकी वैज्ञानिक संस्था नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोर अन्तरिक्षमा फसिरहेका छन् । पृथ्वीबाट करिब ३ सय २० किलोमिटर टाढा उनीहरू अहिले इन्टरनेसनल स्पेस स्टेसनमा छन् । केवल आठ दिनका लागि पठाइएका यी यात्रीहरू आठ महिना बस्ने भएका छन् । त्यसपछि पृथ्वीमा फर्कने आशा गरिएको छ ।

उनीहरूलाई लिएर गएको बोइङ स्टारलाइनर अन्तरिक्षयानमा हिलियम चुहिएपछि यानले काम गर्न सकिरहेको छैन । हिलियम हाइड्रोजन पछिको अति ज्वलनशील पदार्थ हो । यान मर्मतसम्भार हुन सकेमा उनीहरू सन् २०२५ को फेब्रुअरी महिनामा पृथ्वीमा फर्किने आशा गरिएको छ ।

हाल उनीहरूसँगै उक्त अन्तरिक्षमा स्पेस स्टेसनमा अरू थप ७ जना अन्तरिक्ष यात्री छन् । बसाइ रमाइलो नभइ कष्टकर र झनझटिलो हुने देखिएको छ । उनीहरूले आफ्नै पिसाब रिसाइकल गरेर पिउनुपर्छ । नुहाउन पाइँदैन ।

स्पेस स्टेसनमा रहेका नौजनाका लागि अहिले दुईवटा बाथरुम र छवटा सुत्ने कोठा छन् । स्टेसनमा पृथ्वीबाट खाना र पानी पठाइन्छ । खाना र पानी अत्यन्तै सावधानीपूर्वक उपयोग गर्नुपर्छ । भिजेको टाबेल प्रयोग गरी शरीर पुछ्नुपर्छ ।

सूर्यबाट आउने विकिरणको खतरा रहेको उक्त स्टेशनमा गुरुत्वाकर्षण कम भएकाले शरीरका मांसपेशी कमै चल्छन् । पृथ्वीको जस्तो त्यहाँ समता र एक रूपता पाइँदैन, गुरूत्वाकर्षणको हिसाबले पनि । त्यहाँको सौर्यचक्र नै अनौठो छ ।