• भाद्र ३१ २०८१, सोमबार

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

भाद्र २२ २०८१, शनिबार

काठमाडौं । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लु सङ्क्रमण देखिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र अन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो ।

बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधि दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरि सकिएको जनाइएको छ ।प्रारम्भिक परीक्षणमा बिरामीको फ्लुको प्रकार शङ्कास्पद देखिएकाले यसलाई राज्य र सङ्घीय प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट ती बिरामीलाई यो एच–५ (बर्ड फ्लु) भएको पुष्टि भएको छ ।

यो वर्ष अमेरिकामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुने उनी १४औं व्यक्ति थिए भने जनावरहरूसँगको सम्पर्क बिना बर्ड फ्लु पुष्टि हुने उनी पहिलो व्यक्ति थिए। ‘मिसौरीमा दुधका लागि पालिएका गाईहरूमा एच ५ सङ्क्रमण रिपोर्ट गरिएको छैन’, मिसौरी स्वास्थ्य विभागले भनेको छ, ‘यद्यपि ‘व्यावसायिक वा घरको आँगनमा पालिने केही पङ्क्षीहरूको समूह वा जङ्गली चरा’हरूमा बर्ड फ्लु सङ्क्रमण भएको भने पुष्टि भएको छ ।

सन् २०२२ मा बर्ड फ्लुका सबै घटना हरू फार्मवर्कर्समा थिए, जसमा पहिलो पटक पनि समावेश थियो । बर्डफ्लु सबैभन्दा बढी जङ्गली चरा चुरुङ्गी र कुखुरामा पाइन्छ, तर पछिल्लो समय स्तनधारी जनावरमा पनि देखिएको छ । यस वर्ष देशभर बर्डफ्लुको प्रकोप गाईवस्तुमा पनि देखिएको छ ।