• मंसिर ११ २०८१, मंगलवार

प्यारालम्पिकमा कास्य पदक विजेता पलेशालाई महासंघले गर्यो सम्मान

भाद्र २१ २०८१, शुक्रबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा कास्य पदक विजेता २१ वर्षीया पलेशा गोबर्द्वनलाई सम्मान गरेको छ । महासंघले गोबर्द्वनलाई ३ लाख रुपैयाँ, प्रशिक्षक कविराज नेगी लामालाई रु. एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाासहित सम्मान गरेको हो ।

गोबर्द्वन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सम्मान कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोबर्द्वन, प्रशिक्षक र म्यानेजरलाई बधाइ ज्ञापन गर्दै यसरी सम्मान गर्न पाउँदा खुसी लागेको बताए । साथै, उनले महासंघका सदस्य एवं सम्पूर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडी गोवद्र्धन लगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गरे ।

‘नेपाली युवाहरु प्रतिभावान छन्’, उनले भने, ‘विश्वका अन्य मुलुकजस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको गोबर्द्वनमा सहयोग पुर्याउनुपर्छ ।’

पेरिस प्यारालम्पिकमा गोवद्र्धनको ऐतिहासिक विजय नेपाली खेलाडीका लागि अन्तराष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकाललको भनाइ छ ।

गोवद्र्धननले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको सुरुआत गरेकी छन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलोपटक हासिल भएको हो ।

गोवद्र्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरुलाई प्रेरित गर्ने बताइन्। महिलाहरुको ५७ केजी के–४४ वर्गमा गोवद्र्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कास्य पदक हात पारेकी थिइन् ।