२० भदौ, काठमाडौं । यसवर्ष मुस्ताङ र हुम्ला जिल्लाबाहेक ७५ जिल्लामा डेंगु फैलिँदा ६ हजार ८३१ जना संक्रमित भएका छन् । सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसीडी)ले जनाएको छ । इडीसीडीका अनुसार सबैभन्दा धेरै डेंगुका बिरामी गण्डकी प्रदेशमा देखिएका छन् ।
प्रदेशमा डेंगु पुष्टि हुनेको संख्या तीन हजार २२९ पुगेको छ । गण्डकीको तनहुँ जिल्लामा मात्रै एक हजार १४९ जनामा डेंगु पुष्टि भएको छ । तनहुँपछि कास्कीमा ७६४ र पर्वतमा ६५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा एक हजार ७२३ मा डेंगु देखिँदा काठमाडौंमा ५५२ र चितवनमा ५३३ जनामा डेंगु संक्रमण देखिएको छ । यस्तै कोशी ८१५, लुम्बिनीमा ४७४, सुदूरपश्चिममा ३७९, मधेशमा १९६ र कर्णाली प्रदेशमा १०५ जना संक्रमित भेटिएका छन् ।
अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो । जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् । डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो ।
सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल मानिन्छ । कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ ।
संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ । डेंगु मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् । धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा भने डेंगु संक्रमणले जटिल अवस्था आउन सक्छ । निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नुले
डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने हुन्छ । डेंगु लामखुट्टेको वृद्धि, विकास सबभन्दा बढी फालिएका टायरमा तथा फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ ।
ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्ने पर्छ । बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्याल, ढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई व्यवहारमा उतार्नुपर्छ ।