• भाद्र ३१ २०८१, सोमबार

झापामा दुई नाबालिका छोरीको रहस्यमय मृत्यु, हराएकी आमा फेला

भाद्र १९ २०८१, बुधबार

काठमाडौं, भदौ १९ । पाँच दिनअघि हराएकी एक महिला झापाको बिर्तामोड क्षेत्रमा फेला परेकी छन् । उनी सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाकी आमा हुन् ।

३० वर्षीया अस्मिता न्यौपानेलाई बिर्तामोडको सडकमा अस्वस्थ अवस्थामा फेला पारिएको र तत्काल उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको प्रहरी स्रोतले बताएको छ । उनको हाल उपचार भइरहेको छ ।

गत शनिबार, अस्मिताका एक र तीन वर्षका छोरीहरू आइका र अर्पणा कार्की सुन्दरहरैँचा–७ स्थित एक केरा बगानमा मृत अवस्थामा फेला परेका थिए । घटनास्थल नजिकै कीटनाशक औषधि ‘मेटासिट’को खाली बट्टा भेटिएको थियो, जसले गर्दा प्रहरीले विष प्रयोग गरी हत्या गरिएको हुन सक्ने आशंका गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार नाबालिकाहरूको मृत्युको कारण र आमाको विषयमा समेत अनुसन्धान सुरु भइसकेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको र अस्मिताको स्वास्थ्य अवस्था सुधार हुने बित्तिकै थप जानकारी संकलन गरिने बताएको छ ।

घटनाअघि, अस्मिता र उनका पति अर्जुन कार्कीबीच घर निर्माणको विषयमा विवाद भएको प्रहरी र त्यसपछि अस्मिता दुई छोरीहरूसँग बेपत्ता भएको बताइएको छ । यसबीच, दुवै बालिकाको शव परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सम्पन्न भइसकेको छ, तर रिपोर्ट अझै आउन बाँकी छ ।