एक पटक पढेको कुरा कसरी बारम्बार सम्झने भन्ने धेरैको चासोको विषय बनेको छ । जति पढे पनि परीक्षाका बेला खाली दिमाग हुने समस्याले तपाईं पीडित बन्नु भएको छ भने तपाईंका लागि केही उपाय छन् ।
घोकेको कुरा लामो समयसम्म दिमागमा बस्दैन । अध्ययन शैलीलाई परिवर्तन गरी कलात्मक ढंगले पढ्न थाल्नुभयो भने लामो समयसम्म तपाईले सम्झन सक्नुहुन्छ । एक घन्टा पढ्दा २० मिनेट आराम गर्नुपर्छ । योगा र ध्यानले दिमागलाई तेजिलो बनाउँछ । पालुंगोको साग, बदाम, ओखरले दिमागको स्मरणशक्ति बढाउँछ ।
सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गर्दा राम्रो मानिन्छ । राति अक्सिजन कम हुँदै जाने भएका कारण पढेको सम्झन गाह्रो हुन्छ । बिहान ४ बजेदेखि ९ बजेसम्मका लागि पढ्न उपयुक्त समय भएको मानिन्छ ।
पढ्ने उत्तम समय हो । पढ्दा मस्तिष्कलाई नियन्त्रण गर्न खोज्नु हुँदैन अनि ढाड सीधा गरेर पढ्नु पर्छ ।
तपाईंले पढेको कुरा सम्झना गर्न निम्न विधि अपनाउन जरुरी छ ।
महत्वको कुरा पहिचान गर्ने
यो सबैभन्दा उपयुक्त बानी हो । महत्वपूर्ण कुरा पहिचान गरी त्यसलाई अन्डरलाइन गरेर पढ्ने गर्नुपर्छ । कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्को पटक आफूलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहोर्याउँदा सम्झन सजिलो हुन्छ ।
नोट आफैँ बनाउने
आफूले पढेको कुरा आफै नोट बनाउनुपर्छ । जसले गर्दा नोट हेर्दा पनि पहिलेको कुरा दोहोरिन्छ । धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधि सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न ।
लेखेर पढ्नु उत्तम
पढेको कुरा सम्झनका लागि लेखेर पढ्नु राम्रो हो । एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटि अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ ।
सारांश बनाएर पढ्ने
कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । विज्ञान, अर्थशास्त्र र गणितका सूत्रहरु सम्झन सट्कट बनाउँदा सजिलो हुन्छ । जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा पोइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ।
महत्त्वपूर्ण कुरा मनन गर्ने
पढ्ने लेख्ने र सोही कुरा मनन गर्न सके हत्तपत्त बिर्सिदैन । त्यसमा पनि महत्वपूर्ण कुरा सम्झनामा आए धेरै सजिलो हुन्छ । महत्वपूर्ण कुरामा मनन गर्नु फाइदाजनक हुन्छ भन्ने बुझ्नु पर्छ ।
सैद्दान्तिक भन्दा प्रयोगात्मक उपयोगि
पढ्ने प्रणालीलाई व्यवहारिक र प्रयोगात्मक बनाएर पढ्नुपर्छ । पढ्ने विषय पुरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ । नेपालीको विद्यार्थीले कथा, कविता लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरूले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ । हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न ।
धेरै प्रश्न गर्ने बानी गर्ने
पढेको कुरालाई धेरै प्रश्न उत्तर गर्दा पछिसम्म सम्झन सकिन्छ । साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरूमा हुन्न । सानो टिम बनाउने, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्ने, यसले गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ ।
सहकर्मी र साथीसँग धेरै छलफल
छलफल सम्झनका लागि धेरै उपयोगि अध्ययन विधि हो । पढ्दा पढ्दै कुनै टपिक्स बुझिँदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु राम्रो हो । समूह बनाएर आ–आफूले रुचिको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक-फरक विषयमा छलफल गर्दा अप्ठ्यारा विषय समेत सहज बन्छन् ।
समय व्यवस्थापन
उचित समय निकालेर अध्ययन गर्नु पर्छ । ताकि तपाईलाई २४ सै घन्टा पढाइको चिन्ता नहोस ।पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ ।
तालिका बनाएर पढ्ने
पढेका कुरालाई तपाईले आफू अनुकुल व्याख्या हुने गरी तालिका बनाउन सक्नुहुन्छ । यसले तपाईको सिर्जनात्मकता पनि झल्कन्छ अनि सम्झने शक्ति पनि बढ्छ ।