काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
कांग्रेस केन्द्रीय समितिको पछिल्लो बैठक २३ साउनदेखि जारी छ । तर, बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुटेपछि ७ भदौदेखि स्थगित भएको थियो ।
थापा र शर्माको प्रतिवेदनमा संस्थापन पक्ष सन्तुष्ट छैन । उता संस्थापन पक्षको असन्तुष्टि सम्बोधन गर्न थापा र शर्मा तयार भइसेकेका छैनन् । सोहीकारण पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयलाई प्रतिवेदन संशोधन गर्न भनेका छन् । तर, उनीहरू त्यसका लागि तयार भएका छैनन् ।
कांग्रेस नेताहरूका अनुसार केन्द्रीय समितिले महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ । शनिबार पनि कांग्रेस नेताहरूको बैठक बसेको थियो । उक्त बैठकमा पनि सहमति भने हुन सकेन ।
केन्द्रीय समितिको बैठकअघि आजै पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । यो बैठक दिउँसो १ बजे बस्नेछ ।
थापाले आफ्नो प्रतिवेदनमा आगामी चुनावमा गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका मतदाताले चुनावमा ‘रुख’ मा भोट हाल्न पाउनुपर्ने थापाको अडान छ ।
अर्का महामन्त्री शर्माले भने एक्जिट पोलिसीलाई आफ्नो प्रतिवेदनमा समेटेका छन् । उनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा सांसदहरू कति कार्यकालसम्म हुन पाउने भन्ने प्रस्ताव प्रतिवेदनमा राखेका छन् । यो विषयमा पनि विवाद छ ।