• भाद्र २९ २०८१, शनिबार

अन्तर्राष्ट्रिय फौजदारी अदालतले भन्यो– पुटिनलाई मंगोलियामा गिरफ्तार गर्नुपर्छ

भाद्र १५ २०८१, शनिबार

मस्को । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अको हप्ता मंगोलियाको भ्रमण गरेमा मंगोलियाली अधिकारीहरूमाथि उनलाई पक्राउ गर्ने ‘दायित्व’ रहेको बताएको छ । पुटिनले अर्को हप्ता मंगलबार मंगोलियाको भ्रमण गर्न सक्नेछन् ।

पुटिनले आईसीसीको सदस्य राष्ट्रको भ्रमण गरेको यो पहिलो पटक हो । आईसीसीका प्रवक्ता डाक्टर फादी अल–अब्दल्लाहले अदालत मंगोलियालगायतका सदस्य राष्ट्रहरूमा ‘आफ्नो आदेशको पालना गर्न’ निर्भर रहेको बताए ।

उनले आईसीसीका अन्य सदस्य राष्ट्रहरू जस्तै यसमा सहयोग गर्नु मंगोलियाको दायित्व भएको उनको भनाई थियो । मार्च २०२३ मा, आईसीसीले पुटिनको गिरफ्तारीको लागि वारेन्ट जारी गरेको थियो । अदालतले रुस र युक्रेनबिच जारी संघर्षमा युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको अदालतले जनाएको छ ।

तर, रुसले पुटिनमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएको छ । आईसीसीले पुटिनको नाममा वारेन्ट जारी गर्नुलाई रुसले ‘लज्जास्पद’ भनेको थियो ।यता युक्रेनी अधिकारीहरूले पुटिनलाई मंगोलिया पुगेपछि पक्राउ गर्न माग गरेका छन् ।

युक्रेनी विदेश मन्त्रालयले भन्यो, ‘हामीहरूलाई आशा छ, मंगोलियालाई थाहा छ कि पुटिन युद्ध अपराधी हुन् भनेर ।’ यद्यपि, क्रेमलिनको राष्ट्रपति कार्यालयले पुटिनको भ्रमणको बारेमा ‘कुनै चिन्ता’ नभएको बताएको छ ।