• भाद्र २९ २०८१, शनिबार

चट्याङ पर्दा तीन जना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

भाद्र १५ २०८१, शनिबार

खोटाङ । गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् ।

डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्थानीयले बताएका छन् ।

चट्याङले गम्भीर घाइते भई बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्क पु¥याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।

तीनैजनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिए । ‘चट्याङले बेहोस बनेका तीनैजना अहिले उपचाररत छन् ।

उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्’, उनले भने, ‘उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार तीनैजनाको अवस्था खतरामुक्त छ । रातको समयमा परेको चट्याङको थप क्षतिको विवरण भने आउन बाँकी छ ।’

चट्याङले विद्युतीय सामग्रीमा ठुलो क्षति गरेको ऐंसेलुखर्क गाउँपालिकाका प्रवक्ता एवं वडा नं ३ ऐंसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए । ‘चट्याङबाट घाइते बनेकाहरूको अवस्था सामान्य बन्दै गएको छ । हामी अहिले घाइतेहरूको अवस्था बुझ्न प्राथमिक स्वास्थ्य केन्द्र पुगेका छौँ’, उनले भने, ‘चट्याङले विद्युतको मिटरबक्स, टेलिभिजन, विद्युतीय बल्ब, कुर्सी, टेबललगायतका सामग्री जलेको भन्ने जानकारी फोनमार्फत आइरहेको छ ।

अब प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्छौं ।’ चट्याङबाट स्थानीय बासिन्दालाई जोगाउन यसअघि गाउँपालिकाले विभिन्न ठाउँमा अर्थिङसमेत गरेको थियो । अघिल्लो जनप्रतिनिधिका पालामा गाउँपालिकाको लगानीमा विभिन्न ठाउँमा अर्थिङ गरिए पनि यस वर्ष चट्याङले ठूलोमात्रामा क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् ।