• भाद्र २९ २०८१, शनिबार

रंगशाला बनाउन एन्फाले माग्यो सरकारसँग जग्गा

भाद्र १४ २०८१, शुक्रबार

१४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय रंगशाला बनाउन सरकारसँग जग्गा माग गरेको छ । एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले नेपालमा करिब ४० हजार दर्शक अट्ने फुटबल रंगशाला आवश्यक रहेकाले सरकारसँग जग्गा माग गर्ने निर्णय गरेको हो । बैठकले जग्गा प्राप्तिका लागि सरकारसँग समन्वय गर्न एन्फाका उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहेको समिति गठन गरेको छ ।

केही दिनअघि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी सुविधा सम्पन्न फुटबल रंगशालामा आवश्यक रहेको जानकारी गराएका थिए । ‘यसअघि प्रधानमन्त्रीसँग भेटको समयमा जग्गा आवश्यक भएकोबारे जानकारी गराएका थियौँ । अहिले सरकारलाई जग्गा उपलबध गराइदिन आग्रह गर्ने निर्णय भएको हो । जग्गा पाएपछि निर्माण थालिहाल्ने योजना छ’, एन्फाका प्रवक्ता सुरेश शाहले भने ।

शाहका अनुसार एन्फाले रंगशाला निर्माणका लागि उपत्यकाभित्र चार ठाउँमा जग्गा हेरेको छ । तीमध्ये कुनै जग्गा मिलाइदिन एन्फा पदाधिकारीले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । जग्गा पाएमा रंगशाला बनाउन सुरुमा २२ हजार अमेरिकी डलर विनियोजन गर्ने निर्णय समेत एन्फाले गरेको छ । फिफा फरवार्ड ३.० अन्तर्गत रहेर उक्त रकम छुट्याइएको एन्फा प्रवक्ता शाहले जानकारी दिए ।एन्फाले सुविधासम्पन्न रंगशाला बनाउन ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

हाल नेपालसँग रहेको एकमात्र रंगशाला त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हो । तर यही रंगशालाको पनि संरक्षण र मर्मतसम्भार गर्न नसक्दा नेपालमा हुनुपर्ने अन्तर्राष्ट्रिय खेलहरु पनि विदेशमा नै हुने गरेको छ । २९ साउनमा एएफसी च्यालेन्ज लिग अन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीचको खेल हुँदा दशरथ रंगशालमा हिलाम्मे बनेको थियो । हिलाम्य रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाएको भन्दै आलोचना भएको थियो । राखेप मातहतमा रहेको दशरथ रंगशाला मर्मत सम्भार र हेरचाहको काम एन्फाले गर्दै आएको थियो ।

तर गत चैतमा नेपाल र बहराइनबीच घरेलु मैदानमा हुनुपर्ने विश्वकप छनोटको खेल मैदानको अवस्थाका कारण हुन नसकेपछि राखेपले दशरथ रंगशालाको हेरचाह आफ्नै मातहतमा ल्याएको थियो । त्यसपघि राखेपले एक निजी कम्पनीलाई दशरथ रंगशालाको मैदानको व्यवस्थापनको जिम्मेवारी दिएपनि विश्वकप छनोट अन्तर्गत नै नेपाल र युएईबीच जेठमा दशरथ रंगशालामा हुनुपर्ने खेल समेत हुन सकेन ।

एन्फाले दशरथ रंगशालामा अब एन्फाबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवसँग माग गर्ने निर्णय समेत बैठकबाट गरेको छ । साथै एन्फाले रंगशालामा निर्माणका लागि ३ हजार अमेरिकी डलर विनियोजन गर्ने निर्णयसमेत गरेको छ ।