नेपाल-भारत सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको छ । अमेरिकी सहयोग नियोग एमसीसीको अनुदानमा निर्माण हुने सो प्रसारण लाइनका लागि शुक्रबार सम्झौता भएको एमसीसी कार्यान्वयनका लागि नेपालमा स्थापित एमसीए नेपालले जनाएको छ ।
एमसीए नेपालका अनुसार नयाँ बुटवल सबस्टेसनबाट नेपाल–भारत सीमासम्मको १८ किलोमिटर सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि ट्रान्सरेल लाइटिङ लिमिटेडसँग निर्माण सम्झौतामा हस्ताक्षर भएको हो । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण सम्पन्न गरिनेछ । उक्त प्रसारण लाइन निर्माणसँगै नेपाल–भारत सीमापार विद्युत् व्यापार सम्झौता कार्यान्वयनको महत्त्वपूर्ण कार्यभार पूरा हुनेछ ।