काठमाडौं, भदौ १३ । अमेरिकामा २१ वर्षीया नेपाली छात्रा मुना पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा त्यहाँको प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ह्युस्टन प्रहरीले ती संदिग्धलाई आज ट्राफिक जामको समयमा पक्राउ गरेको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने अखबार नेप्योर्कले उल्लेख गरेको छ । बुधबारनै प्रहरीले मुना मृत भेटिएको घरबाट शनिबार एक संदिग्ध बाहिरिँदै गरेको तस्बिर सार्वजनिक गरेको थियो ।
प्रहरीले संदिग्धलाई देखे खबर गर्नका लागि मानिसहरूलाई अपील गरेको थियो । ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएपछि स्थानीयले नै प्रहरीलाई खबर गरेको थियो । प्रहरीले त्यसपछि तत्काल ती संदिग्धलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको पक्राउबारे अरू विषय खुलाएको छैन । आरोपीमाथि अनुसन्धान भइरहेका कारण प्रहरीले थप विषय खुलाएको छैन । संदिग्धको नाम खुलाइएको छ न बाँकी विषय । उनीविरूद्ध कुनै अभियोग पनि दर्ता नभएको प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले लेखेको छ ।
हत्याको कारण र उद्धेश्य खुलेपछि प्रहरीले पक्राउ परेका व्यक्तमाथि मुद्दा चलाउने बताएको छ । ह्युस्टन प्रहरीले शनिबार पश्चिम ब्युलवार्ड एयरपोर्ट नजिक रहेको मुनाको अपार्टमेन्टबाट एक प्रौढ उमेरका पुरूष बाहिरिँदै गरेको सिसीटिभी फुटेज सार्वजनिक गरेको थियो ।
यसअघि मुनाकै प्रेमीले उनको हत्या गरेको आकलन गरिएको थियो । सिसीटिभी फुटेज सार्वजनिक भएपछि मुनाको हत्या प्रेमीले नगरेको खुलेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको छ ।
मुना भोजपुरकी हुन् । उनलाई आमाले मात्रै हुर्काएकी थिइन् । आमा अनिता पाण्डे अधिकारी काठमाडौंमा छिन् । उनी एक्लैले दुःख संघर्ष गरेर छोरीलाई पढाएर थप अध्ययनका लागि सन् २०२१ मा अमेरिका पठाएकी थिइन् ।
शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनीमाथि पटकपटक गोली प्रहार भएको प्रहरीले बताएको छ । उनको शव पोस्टमर्टम गरी थप अनुसन्धान अगाडि बढाउने त्यहाँको प्रहरीले जनाएको छ ।