• भाद्र २९ २०८१, शनिबार

श्रीमतीको उपचारमा सबै बाख्रा बेचेका पूर्वअध्यक्ष घर्तीलाई रोल्पाली समाजले गर्यो सहयोग

भाद्र ११ २०८१, मंगलवार

घोराही ११, भदौ । घरभित्र पस्दै गर्दा पबी घर्ती सिँढीमा लर्किनुभयो र आँगनमा पच्छारिनुभयो । घर पछाडि रहेका त्रिवेणी गाउँपालिका–१ निवासी घर्तीका श्रीमान मोहनलालले अप्रत्यासित आवाज सुनेर पच्छ्याउँदै आउनुभयो । ढलेकी श्रीमतीलाई उठाउनुभयो । उठेपनि हिंड्न नसक्ने गरी घाइते हुनुभएको रहेछ ।

‘अरु उपाए थिइन, १४ वटा बाख्रा थे तिनै बेचें’ उहाँले भन्नुभयो, ‘त्यहि एक लाख १० हजार रुपैयाँ बोकेर श्रीमती उपचारमा आएको हुँ ।’ उहाँका अनुसार बाख्रा बेच्न एक हप्ता लाग्यो । त्यो अवधिसम्म श्रीमतीले चोट सहेरै बस्नुभयो । निःसन्तान दम्पतीका आश गर्ने ठाउँ थिएनन् । घरमा बाख्रा राखेपनि ग्वाला घाँस गर्ने कोही हुन्नथ्यो । त्यसैगरी गोठ रित्तै पारेर बेच्नुभयो ।

लडेको एक हप्तापछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुग्नुभयो । त्यहाँ ढिलै भएपनि अप्रेसन सफल भयो । खर्च भने पुगेन । रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष डिलाराम वलीको नेतृत्वमा सहयोग संकलन गर्न थालियो । शुरु गरेदेखि नै सबैतिरबाट झपाझप पैसा आयोे । पबीले मिल चलाउनुहुन्थ्यो त्यसमार्फत् सेवा गर्नुभएको थियो । मोहनलाल २०४९ र २०५४ सालको चुनावमा साविक करेटी गाविस अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यही छविले सहयोग उठ्यो ।

‘करेटी सिवाङ खोलामा बस्छौँ’ मोहनलालले भन्नुभयो, ‘एकछाने घर छ ।’ उहाँका अनुसार गाविस अध्यक्ष हुँदा केहि कमाई भएन । उपचारको अर्को उपाए थिएन । त्यसपछि रोल्पाली सेवा समाजको सहारा खोज्नुभयो । उहाँलाई समाजले बुधवार हस्पतालको बेडमै पुगेर एकलाख चारहजार दुईसय रुपैयाँ हस्तान्तरण गरेको छ । सहयोग रकम समातिरहँदा घर्ती निकै भावुक हुनुभयोे । विरामीलाई बाहिर ल्याउन नमिल्ने भएकाले बेडमै हस्तान्तरण गरिएको हो ।

‘हामी सबैलाई छोराछोरी सम्झिनुस् ।’ समाजका दाङ शाखा प्रमुख सल्लाहकार एवं घोराही–१४ का निवर्तमान अध्यक्ष शक्तिराम डाँगीले भन्नुभयो, ‘मैले जन्माइन भनेर पीर नगर्नुहोला ।’ उहाँले उपचारमा समस्या आउन नदिने बचन दिनुभयो । पैसा अभावकै कारण उपचार नरोकिने बताउनुभयो ।

‘समाज सेवा गर्दाको नाफा घाटा यसैगरी थाहा हुन्छ’ समाजका केन्द्रिय अध्यक्ष वलीले भन्नुभयो, ‘सेवा गरेपछि दुःखमा यसरी नै काम लाग्दा रहेछन् ।’ उहाँका अनुसार समाज सेवा गरेकै हुनाले तिन दिनमै त्यो रकम उठेको हो । दुई पटक गाविस अध्यक्ष हुँदापनि त्यही खोलामै घर्ती दम्पती बस्नुभयो । आफ्नो आनीबानी बदल्नु भएन । गाउँकै माया गर्नुभयो । यतिबेला सहयोगीले पनि माया गरेका छन् । तिनै सहायता पाएकाहरुले अहिले मन फुकाएर सहयोग गरेका छन् ।

प्रतिष्ठानले गर्न सक्नै सबै सहयोग दिने शाखा अधिकृत रमिता गौतमले प्रतिवद्धता जनाउनु भएको छ । उहाँका अनुसार पैसा पुगेन भनेर अप्रेसन, औषधि कुनैपनि सेवा रोकिएको छैन । डाक्टर र नर्स सबैले आफूले गर्नसक्ने निशुल्क सहयोग गरेका छन् । अप्रेसनपनि सफल भएको छ । प्रतिष्ठानले अस्पतालका तर्फबाट गर्न सकिने र मिल्ने सबै छुट दिनेछ ।