काठमाडौँ, ११ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन प्रक्रिया र कामकारबाहीप्रति विरोध जनाएका छन् । वर्तमान सरकार राजनीतिक बलमिच्याइबाट बनेको आरोप लगाउँदै उनले यसअघि विभिन्न आपराधिक काण्डमा मुछिएकालाई जोगाउन र गल्ती कमजोरीलाई ढाकछोप गर्न लागिपरेको भनी सरकारप्रति आक्रोश व्यक्त गरे ।
आफू कसैलाई नैतिकता सम्झाउने पक्षमा नरहेको भन्दै प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता दाहालले भ्रष्ट, बिचौलिया र माफियाको पक्षपोषणमा उद्यत भइरहे सरकारको प्रतिष्ठा आफैँ समाप्त हुने धारणा व्यक्त गरे । उनले सरकार सुशासनसँग तर्सिएर, सुशासनको बेगलाई रोक्न तथा आफू र आफ्नालाई जोगाउन बनेको भनी आरोप लगाए ।
“आफ्नो नेतृत्वको यसअघिको सरकारले भुटानी शरणार्थी, बाँसबारी र बालमन्दिर जग्गा प्रकरणलगायत थुप्रै काण्डको सफल छानबिन गरिरहेको अवस्थामा अकस्मात नयाँ सरकार गठन भएको प्रसङ्ग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले विभिन्न अनियमित घटनाक्रमसहित भ्रष्टाचार काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबिन सुरु गरी सुशासनको रटान लगाउनु हाँस्यास्पद हुने धारणा व्यक्त गरे ।