पछिल्लो समय निजी क्षेत्रको जागिर छाडेर लोक सेवाको तयारीका लागि जुट्ने युवाहरूको संख्या बढ्दै गएको छ । न्यून तलब र राजनीतिक हस्तक्षेपका बाबजुद लोक सेवामा आकर्षण बढ्नुको प्रमुख कारण हो, जागिरको सुरक्षा ।
काठमाडौँ — बुबा निजामती कर्मचारी, आमा प्राथमिक शिक्षक । काभ्रेपलाञ्चोकका सुरज सुवेदीलाई सरकारी जागिरमा प्रवेश गर्नका लागि पारिवारिक दबाब छ । त्यही भएर उनले स्नातक सकिनासाथ लोक सेवाको तयारीमा जुटे । उनले लोक सेवा तयारी गर्न थालेको पनि ४ वर्ष पुगिसकेको छ । तर पनि अझै नाम निकाल्न भने सकेका छैन्न् ।
उनी भन्छन, ‘बुबाआमा नै सरकारी जागिरमा हुनुहुन्छ त्यही भएर लोक सेवाको तयारीमा जुटेको हो, तर ४ वर्षको निरन्तरताले पनि नाम निकाल्न सकेको छैन ।’ यो समयमा निजामती, संस्थान, संघ प्रदेशको सबैतिरको दर्जनौं परीक्षा दिइसकेका छन् उनले दिनरात मिहिनेत गर्ने उनको किन नाम निस्किएन भन्ने प्रश्नमा उनी भन्छन, ‘तयारी राम्रो गरेको हुन्छ ।
परीक्षा सकेर निस्कँदा यस पटक त निस्कन्छ भन्ने लाग्छ, तर नतिजामा आफ्नो नाम कहिल्यै देख्न पाइएको छैन ।’ लोक सेवामा सफल हुन आफ्नो मिहिनेत मात्र नभई भाग्य पनि चाहिने हो कि भन्ने महसुस गरिरहेको बताउँछन् उनी निरन्तरताको मिहिनेतले पनि नाम निस्काल्न नसक्दा उनलाई पढ्न छोड्ने सोच पनि आउँछ तर विकल्पमा उनी केही देख्दैनन् ।
मानविकीमा स्नातकोत्तर गरेका उनले दैनिक १२ घण्टासम्म लोक सेवा पढ्ने गरेको बताउँछन । लोक सेवामा आफ्नो ऊर्जाशील समय बिताइरहेका उनले सरकारी जागिर प्रवेश गर्ने आफ्नो अठोट एक दिन पूरा हुने विश्वास व्यक्त गर्छन । उनलाई निजी कम्पनीमा काम गर्न मन लाग्दैन । त्यस्ता कम्पनीमा तलबका साथै सेवासुविधा राम्रो हुँदैन भन्ने लागेको उनले सुनाए ।
व्यापार गर्ने पारिवारिक पृष्ठभूमि नभएको उनले बताए । ‘लोक सेवाको पढाइ धेरै पटक छोडौं जस्तो लाग्छ तर फेरि के गर्ने भन्ने प्रश्न आउँछ,’ उनले भने, ‘लोक सेवाको विकल्प नै छैन मसँग । विदेश जाने मन छैन, व्यापार गरौं पारिवारिक पृष्ठभूमि छैन । निजी क्षेत्रमा आफूलाई सुरक्षित महसुस नै हुँदैन ।’ लोक सेवामा आफ्नो नाम ननिकालेसम्म यसमै लागिरहने उनले बताए ।