• भाद्र २९ २०८१, शनिबार

झन्कार बुढाको लेखनमा आयो छोरीहरु हाकिम र मन्त्री बनेको सन्देश दिने तीज गीत (भिडियोसहित)

भाद्र ८ २०८१, शनिबार

काठमाडौं । तीजको समयमा तीजसँग सम्बन्धित गीतहरुको बाढी नै आउने गरेको पाइन्छ । खासगरी आजभोलि डिजिटल सञ्चारमाध्यमहरुमा तीजका गीतहरु प्रशस्तै सुन्न पाइन्छ । यसैक्रममा जनपक्षीय कलाकार झन्कार बुढामगरको समूहले पनि तीज गीत बजारमा ल्याएको छ ।

झन्कार बुढामगर जनयुद्धबाट उदाएर फक्रिएको कलाकार भएकोले उनका गीतहरुमा सामाजिक परिवर्तनका विषय समेटिएर आउनु स्वभाविक हो । त्यसैले उनले यसपालि ल्याएको तीज गीतमा पनि महिलाहरुको पीडा नभई समाज रुपान्तरणका लागि महिलाले देखाएको वीरताको प्रसंग र मौका पाए भने महिलाले पनि राज्य सञ्चालन गर्न सक्छन् भन्ने प्रसंगको गीत आफ्ना दर्शकसामु पस्किएका छन् । गीतमा शब्द र संगीत काशिराम बुढा ‘झन्कार’को र स्वर निशा बुढामगर ‘रेश्मी’को रहेको छ ।

तीजको रहर आयो बरिलै
गाउँदेखि शहर छायो बरिलै
गीतमा विशुद्ध परम्परामा देखिँदै आएको सन्दर्भ र आँशु र विरहको भन्दा पनि अलि फरक तरिकाले देशमा भएका सामाजिक, राजनीतिक र भौतिक विकासमा परिवर्तन आएको कुरालाई सन्देशको रुपमा देखाउने कोशिस गरिएको छ ।

गीतले नेपालमा गणतन्त्र व्यवस्था आएपछि महिलाहरुले पनि केही अधिकार पाएका छन् भन्ने सन्देश दिन खोजेको छ । बाटोघाटो बनेको, विजुली बत्तिले गाउँ बस्तीहरु झिलीमिली भएको, महिलाहरु पनि मन्त्री भएको, सभामुख बन्न सफल भएको, महिलाले पनि पढ्न पाएको, अधिकारको लागि लड्दा जेलका पर्खाल महिलाले तोडेका जस्ता सन्दर्भहरुले यो गीत विशुद्ध तीजको गीत मात्र नभई सामाजिक रुपमा जागरण पैदा गर्न सन्देश दिन खोजेको रचनाको रुपमा लिन सकिन्छ ।