काठमाडौं । संयुक्त राज्य अमेरिकाले शुक्रबार इजिप्टको सीमामा इजरायली सेनाको उपस्थिति प्रमुख अवरोधका रुपमा देखापरेपछि गाजा युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको अमेरिकाले बताएको छ ।
‘युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको छ । अब दुबै पक्ष एकजुट भएर सम्झौता कार्यान्वयन गर्न आवश्यक छ’, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए । वार्तामा भएको प्रगति बारे हमासको प्रतिकृया आइसकेको छैन ।
युद्धविरामका लागि जारी कुटनितिक पहल असफल भएको हल्ला गलत रहेको र बिहीबारबाट सुरु भएको प्रारम्भिक वार्ता रचनात्मक प्रकृतिको भएको उनले बताए ।
एक इजिप्टियन स्रोतले इजिप्ट र कतारी गुप्तचर प्रमुखहरूले पनि वार्तामा भाग लिइरहेको एएफपीलाई जानकारी दिएको छ ।
‘आइतबारदेखि सुरु हुने विस्तृत चरणको वार्ताको तयारीका लागि मध्यस्थकर्ताबीच कायरोमा छलफल भइरहेको छ’, स्रोतले भन्यो ।
‘वासिङ्टनले मध्यस्थकर्तासँग इजरायल र हमासबीचको अन्तरद्वन्द्व कम गर्न र योजना कार्यान्वयन गर्ने संयन्त्रका लागि नयाँ प्रस्तावहरूबारे छलफल गरिरहेको छ ।’ ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसी र कतारी अमिर शेख तमीम बिन हमद अल-थानीसँग टेलिफोनमा आगामी वार्ताका बारेमा छलफल गरेका थिए ।
इजिप्ट लगायतका मध्यस्थकर्ताले गाजामा जारी १० महिनाभन्दा बढीको युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न महिनौंदेखि पहल गरिरहेका छन् । अमेरिकाले गाजामा बम हान्न इजरेललाई हतियार पनि दिएको छ र गाजामा युद्धविराम वार्ताको नाटक पनि गरिरहेको छ ।