• बैशाख ९ २०८२, मंगलवार

प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्या प्रकरणका ७ अभियुक्तको पोलिग्राफ परीक्षण सुरु

भाद्र ८ २०८१, शनिबार

कोलकाता । कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार–हत्या प्रकरणका ७ अभियुक्तको पोलिग्राफ परीक्षण सुरु भएको छ । मुख्य अभियुक्त सञ्जय रोयको जेलमै परीक्षण भइरहेको छ ।

यसैबिच, अगस्त ८ गते राति प्रशिक्षार्थी डाक्टरसँग डिनर गरेका पूर्व प्रधानाध्यापक सन्दीप घोष, ४ डाक्टर र १ स्वयंसेवकलाई सीबीआई कार्यालयमा सोधपुछ भइरहेको छ ।

अगस्ट २३ मा सियालदह अदालतले सञ्जयलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो । यस सुनुवाइका क्रममा सञ्जयले पनि पोलिग्राफ टेस्टका लागि राजी भए ।

मजिस्ट्रेटले सञ्जयलाई पोलिग्राफ टेस्टका लागि किन राजी भएको भनेर सोधेका थिए । सञ्जयले जवाफमा भने, ‘पोलिग्राफ टेस्टले म निर्दोष छु भनेर प्रमाणित गर्छ । मलाई फँसाइँदै छ ।’

९ अगस्तको राति कोलकाताको आरजी कर अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या गरिएको थियो । बिहान उनको अर्धनग्न शव भेटिएको थियो । त्यसपछि देशभरका चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् । कोलकाताका चिकित्सकहरु आज लगातार १६औं दिन हडतालमा छन् ।