काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छिन् ।
शनिबार बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताएकी हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्री रमेश लेखकसँग सुरक्षा मागेको बताइन् ।
‘विश्वविद्यालयमा राजनीति नभई गुण्डागर्दी भएको हो,’ उनले भनिन्, ‘हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।’ विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उनको भनाइ छ ।
‘गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु हुँदैन,’ उनले भनिन् ।