• भाद्र २९ २०८१, शनिबार

वार्डेन बरालको लाङटाङ राष्ट्रिय निकुञ्जमा दादागिरी, स्थानीय महिलालाई दिए थुन्ने धम्की

भाद्र ७ २०८१, शुक्रबार

भाद्र ७, काठमाडौं । रसुवा जिल्लाको नौकुण्ड-२ का दम्जी घलेले लाङटाङ राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालले आफूलाई बिना कारण गालीगलौज गरी थुनछेक गर्ने धम्की दिएको भन्दै सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् ।

घलेले निवेदनमा आफूहरुले स्थानीय स्तरमा सामुदायिक वन समिति गठन गरी तेल उत्पादन गर्न खोजेको अवस्थामा धुञ्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्जले बिना विषय र विभिन्न बहानामा २ पटक गरी रु.९५ हजार बिना रसिद असुलउपर गरिलिएको तर आफूहरुलाई वन समिति बनाउन स्वीकृति नदिएको बताएकी छिन् ।

उनले यस विषयमा लाङटाङ राष्ट्रिय निकुञ्ज धुञ्चे पुगी वार्डेन बराललाई सोधपुछ गर्दा उनले उल्टै गालीगलौज गरी थुनीदिने धम्की दिएको र वन समिति बनाउने काम पनि अगाडी नबढाउने भनेपछि सो कुरा आफ्ना साथीहरुलाई जानकारी गराउन खोज्दा वार्डेन बरालले आफूमाथि झम्टेर फोन खोसेको र हातपात गरी थुनामा राखिदिने धम्की दिएकोले त्रसित भइ सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बताएकी छिन् ।

साथै निवेदनमा उनले प्रहरी समक्ष वार्डेन बराललाई बोलाइ छलफल गराई आफूलाई न्याय दिन पनि आग्रह गरेकी छिन् । निवेदनमा उनले आफूसहितका साथीहरु मिलेर नौकुण्ड-२ स्थित धसिङगरेको तेल उत्पादन गर्नको लागि सामुदायिक वन समिति गठन गर्न खोज्दा यस्तो अवस्था आइपरेको पनि खुलाएकी छिन् ।

वार्डेन बरालको गत साउन ९ गतेको मितिमा कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीमा सरुवा भएको भएपनि उनी सरुवा भएको कार्यक्षेत्रमा नगई लाङटाङ राष्ट्रिय निकुञ्जमै रहेकोले उनी के स्वार्थले प्रेरित भइ सरकारले खटाएको कार्यक्षेत्रमा नगएका हुन भनी आशंका पैदा भएको छ ।

एक स्थानीयले सरुवा भएको कार्यक्षेत्रमा नजानु र नौकुण्ड-२ मा सामुदायिक वन समिति गठन गर्न खोज्दा रोक्न खोज्नुले वार्डेन बरालले धसिङ्गरे प्रशोधन केन्द्रबाट आर्थिक लेनदेन गरेका त छैनन् ? भनी आशंका व्यक्त गरेका छन् ।

ती स्थानीयले वार्डेन बरालले सरकारमा रहेको एमालेको आडमा २१६ हाइड्रो पावरबाट काठको रोयल टीसहित ३० लाख भन्दा बढी घुस लिएको र काज सरुवा हुँदासमेत बेवास्ता र अटेर गरी लाङ्गटाङ राष्ट्रिय निकुञ्जमा दादागिरी चलाइरहेको आरोप पनि लगाए । उनले  वार्डेन बरालले महिलालाई हातपात गरेको विषय गम्भीर भएको पनि बताए ।