काठमाडौं । बिजुलीको लाइन काटेपछि तनहुका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर २ करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा लाइन काटेर २ करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो । केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकामा एक हजार दुई सय ७३ ग्राहकले बक्यौताबापतको रकम बुझाएका छन् ।
एक हजार चार सय ३६ ग्राहकबाट ३ करोड ५० लाख ५६ हजार छ सय ७४ बक्यौता उठ्नुपर्ने थियो । ७६.५७ प्रतिशत बक्यौता असुली भएको छ । आर्थिक वर्ष २०७९-८० मा कार्यालयले नौ सय १८ ग्राहकको लाइन काटेकामा १ करोड ८४ लाख ६५ हजार चार सय ५२ बक्यौता सङ्कलन गरेको थियो ।
उक्त आर्थिक वर्षमा सात सय ८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो । त्यतिबेला ३ करोड ६४ लाख ५७ हजार छ सय ८२ बक्यौता उठ्नुपर्ने थियो ।
केन्द्रले आर्थिक वर्ष २०८०-८१ मा ५३ करोड ९४ लाख ३१ हजार छ सय १३ बराबरको विद्युत् बिक्री गरेको छ । रेग्मीका अनुसार त्यस अवधिमा ५४ करोड २० लाख ६० हजार दुई सय ७८ विद्युत् रकम सङ्कलन भएको थियो ।
केन्द्रले त्यस वर्ष ७.९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२.७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो । विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताए ।