भाद्र ४, काठमाडौँ । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबास्वामी १००८ कृष्णानन्द जी महाराजले पशुपतिमा गएर चन्दन लगाउने नेपालका नेताहरूले संसदमा गएर धर्मनिरपेक्षताको माग गर्नु अस्वाभाविक भएको बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै उनले नेताहरूले आफूलाई भेट्न पशुपति कोटिहोममा आएर चन्दन लगाएको उल्लेख गरे । उनले चन्दन लगाएर संसदमा जाने अनि धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध समेत गरे । उनले भने,‘पशुपतिमा धेरै नेता वा सांसदहरू आउनुभयो । मैले उहाँहरूलाई भने यहाँ आएर चन्दन लगाएर संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको छु ।’
उनले अहिले नेपालमा विभिन्न अनैतिक काम र भ्रष्टाचार भइरहेको कारण राष्ट्र जर्जरको अवस्थामा रहेको बताए । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि अन्तिम साससम्म लड्ने उनको प्रतिबद्धता छ ।