आज पुत्रदा एकादशी । प्रत्येक महिनामा दुई वटा एकादशी हुन्छन्। एउटा कृष्ण पक्षमा र अर्को शुक्ल पक्षमा पर्ने गर्दछ । श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ । श्रावण शुक्ल पक्षका अलवा पौष शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत बस्ने गरिन्छ । सन्तानविहिन रहेका सवैले पुत्रदा एकादशीको ब्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।
एकादशीमा के गर्ने ?
एकादशीका दिन भगवान श्री हरि विष्णुजीको पूजा गर्ने व्यवस्था छ । एकादशी तिथिमा विष्णुसँग माता लक्ष्मीको पूजा गर्नुहोस् र दिनभर भगवानको ध्यानमा व्रत बस्नुहोस्। एकादशी व्रत द्वादशी तिथिमा अर्थात् एकादशीको भोलिपल्ट भङ्ग हुन्छ ।
एउटा कुरा ध्यानमा राख्नुपर्छ कि द्वादशी समाप्त हुनु अघि एकादशी पार गरिनुपर्छ । एकादशीमा दान गर्नु पनि धेरै महत्त्वपूर्ण मानिन्छ, त्यसैले एकादशी तिथिमा दान कार्य गर्नुहोस्।
यस बाहेक एकादशी तिथिमा भगवान विष्णुलाई तुलसी चढाउनुपर्छ । नारायणलाई तुलसी अति प्रिय छ। अर्कोतर्फ, एकादशीको व्रत नराखे पनि यस दिन सात्विक वस्तुको मात्र सेवन गर्नुपर्छ ।
एकादशी तिथीमा के नगर्ने ?
एकादशीको दिन मासु, मदिरा र अन्य कुनै पनि प्रकारको मादक पदार्थको सेवन गर्नु हुँदैन। साथै एकादशीमा भातको सेवन वर्जित मानिन्छ, त्यसैले यस दिन व्रत नराखे पनि भात सेवन गर्नु हुँदैन ।
एकादशी तिथीमा क्रोध नगर्नुहोस् र कसैको लागि अपमानजनक शब्दहरू प्रयोग नगर्नुहोस्। यसबाहेक एकादशी तिथिमा पूर्ण ब्रह्मचर्य पालन गर्नुपर्छ।
यस एकादशीको ब्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई ब्रत बस्नु पर्दछ । यस दिन भगवान बिष्णुको बालगोपाल रुपको पूजा गर्ने गरिन्छ । बालगोपाल बिष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धुप दिप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाँङ जस्ता प्राकृतिक फलफूलहरु चढाइन्छ । एकादशीको भोलीपल्ट द्वादशीका दिन बिष्णुलाई अर्ध्य दिएर ब्रत र पूजा समापन गरिन्छ ।