• भाद्र २९ २०८१, शनिबार

श्रीलंकापछि बंगलादेशको विद्रोहले गरेको संकेत

श्रावण ३१ २०८१, बिहीबार

६ अगस्ट २०२४ मा ढाकामा स्वतन्त्र बंगलादेशका सृष्टिकर्ता बंगबन्धु शेख मुजिबुर रहमानको शालिक ज्यादै अपमानजनक ढंगले ढालिएयो । विश्वभरका स्वतन्त्रता र प्रजातन्त्रकर्मीले म्याडम रोल्यान्डको त्यो अन्तिम र युगान्तकारी भनाइलाई सम्झे । फ्रान्सेली क्रान्तिको एक प्रमुख नेताको एक कथामा भनिएको थियो, ‘हे स्वतन्त्रता, तिम्रो नाममा के अपराध गरिन्छ ?’ मेडम रोलान्डलाई ८ नोभेम्बर १९७३ मा उनका आफ्नै क्रान्तिकारी गिरन्डिन्स साथीहरूले गिलोटिनले मारेका थिए ।

बंगलादेशको १९७१ को मुक्ति युद्ध र त्यसपछिको कट्टरपन्थी र हिंसात्मक नेतृत्व संक्रमणले मुजिबुर रहमानको हत्या र शक्ति सङ्घर्षको अवधिलाई निम्त्यायो, जुन कहिलेकाँही फ्रान्सेली क्रान्ति र त्यसपछिको आन्तरिक लडाइसँग मिल्दोजुल्दो थियो । फ्रान्सेली क्रान्ति पछि विचारधारामा आमूल परिवर्तन र राज्यका कथित शत्रुहरूलाई पछि हटाउने नाममा दमनको अवधि थियो । त्यसैगरी बंगलादेशमा पनि राजनीतिक नेता, दल र सेना सत्ताका लागि चर्को सङ्घर्षमा लागेका कारण सत्तामा रहेकाहरूमाथि भ्रष्टाचार, अधिनायकवाद र असहमति दमन गरेको आरोप लाग्ने गरेको छ ।

निःसन्देह, स्वतन्त्रता पछि, बंगलादेशमा पनि राजनीतिक विरोधीहरूलाई दमन गर्ने प्रवृत्ति भएको छ । अपदस्थ शेख हसिनामाथि पनि शक्तिको दुरुपयोग र अधिनायकवादको लगातार आरोप लगाइँदै आएको छ । त्यसैले आज बंगलादेशमा दोस्रो स्वतन्त्रताको नारा गुञ्जिरहेको छ । तर प्रश्न उठ्छ कि सन् १९७१ मा प्राप्त भएको पहिलो स्वतन्त्रताको कुनै उपयोग भएन ? आजको घटनाक्रम हेर्दा पनि त्यस्तै देखिन्छ ।

फ्रान्सेली क्रान्ति पछिको अवधि जस्तै बंगलादेशमा हालैका राजनीतिक घटनाहरूले पनि राजनीतिक ध्रुवीकरण र सामाजिक अशान्तिसहित समाजमा महत्वपूर्ण प्रभाव पारेको छ । दुवै अवस्थामा प्रारम्भिक क्रान्तिकारी आन्दोलनका आदर्शवादी लक्ष्यहरू कहिलेकाहीँ सत्ता कायम राख्ने जटिलता र सङ्घर्षहरूले ओझेलमा परेका छन् ।

यी समानताहरूको बावजुद, फ्रान्सेली क्रान्ति एक गहिरो र दूरगामी उथलपुथल थियो, जसले नाटकीय रूपमा फ्रान्सको सम्पूर्ण राजनीतिक र सामाजिक संरचनालाई पुनः आकार दियो र यसको व्यापक अन्तर्राष्ट्रिय प्रभावहरू थिए । जबकि बंगलादेशमा अहिलेसम्म जे भयो वा भैरहेको छ त्यो जनक्रान्ति भन्दा भीड क्रान्ति जस्तो लाग्छ ।

भीड क्रान्ति हो किनभने भीडको चरित्र र नेता हुँदैन, त्यसैले यो बंगलादेशमा देखिए जस्तै अराजक छ । क्रान्ति भनेको सत्ता पन्छाउनका लागि हो, लुट्न होइन । बंगलादेशको प्रधानमन्त्री निवासमा भएको लुटपाट सबैले देखेका छन् । निर्दोष हिन्दूहरूको हत्या र तिनीहरूको सम्पत्तिमा आगो लगाउनुलाई दोस्रो स्वतन्त्रताको युद्धको रूपमा कसरी लिन सकिन्छ ?

सार्क राष्ट्रमै रहेका श्रीलंकापछि बंगलादेशमा भएको विद्रोहले त्यहाँका मुख्य शासकलाई देशै छा्ड्नुपरेको छ । विश्वमै शक्तिशाली महिला प्रधानमन्त्री मानिएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बंगलादेश बनाउने परिवारकै सदस्य हुन् । लामो समय देशको नेतृत्व गरेकी उनको शासन र श्रीलंकाका महेन्द्र राजापाक्षेको शासनविरुद्ध भएका विद्रोहलाई सामान्य मान्नुहुँदैन ।

विश्व मिडियामा आएकोभन्दा बंगलादेशको अवस्था धेरै नै घातक भएको त्यहाँका पत्रकार र विश्लेषकहरु बताइरहेका छन् । प्रधानमन्त्री हसिनाले देश छाडेसँगै कुनै राजनीतिक दलको नभएर सेनाले देशको जिम्मा लिनुपर्ने अवस्थाले घटनाको गाम्भीर्यता देखाउँछ । उनी भारत शरणमा जानु केही समयअघि सैनिक परिचालनको निर्णय गरेकी हसिनाको निर्णय मान्नु र सहयोग गर्नुको साटो पौने घन्टाभित्र देश छाड्न गरेको आग्रहले पनि त्यहाँको अवस्था धेरै नै आक्रोशित भएको र त्यसपछिका लगातार हिंसात्मक घटनाक्रमले यसको नेतृत्वबिहीन भएको देखाउँछ । प्रधानमन्त्रीले देश छाडिसकेकी छन्, उनको परिवारले उनी राजनीतिमा नफर्कने बताइसकेका छन्, संसद भंग भइसकेको छ तर त्यहाँको अराजकता जारी छ ।

गत जुलाई १५ बाट भएको सामान्य विद्यार्थी आन्दोलन उग्र भएसँगै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोड्नुप¥यो । उनी सैनिक जहाजमा भारत शरणमा पुगिन् । जुलाई २१ मा आरक्षणको मूल माग राखेर आन्दोलन गरेका विद्यार्थीहरुको माग सर्वोच्च अदालतले पूरा गरेको थियो । ५६ प्रतिशतको आरक्षण घटेर ७ प्रतिशतमा झ¥यो । खुला ४४ प्रतिशतबाट बढेर ९३ प्रतिशत पुग्यो, तर पनि आन्दोलन रोकिएन । कारण– आन्दोलनमा २०० भन्दा धेरै विद्यार्थी मारिए । विद्यार्थी मार्नेहरुलाई कारबाहीको माग विद्यार्थीले नै गरे । विद्यार्थी मारिएको जिम्मेवारी हसिनाले लिनुपर्ने माग उनीहरुको थियो ।

हसिनाले टेरिनन् । बरु आफ्नै सरकारी फौजबाट मारिएका विद्यार्थीहरुको सम्झनामा शोक दिन घोषणा गरिन् । उनी पीडित कार्ड खेल्न सक्रिय भइन् । यसबाट झन बिच्किए विद्यार्थीहरु ! आइतबार त आन्दोलनमा चरम दमन भयो । ९० जनाको एकै दिनमा ज्यान गयो । त्यसको प्रतिक्रियास्वरुप सोमबार ढाकामा विद्यार्थीहरुको मार्चपास कार्यक्रम थियो । प्रधानमन्त्री कार्यालय गोनो भवनमा प्रदर्शनकारीहरु आउने भएपछि हसिना सैनिक जहाजमा भारतको शरणमा पुगिन् । उता आन्दोलनकारीहरु भने प्रधानमन्त्री कार्यालयमा प्रवेश गरे ।

दक्षिण एसियाली देश सार्कको त उद्गमथलो तथा बिम्स्टेकको मुख्यालय ढाकामा आइतबार भएको घटना दक्षिण एसियाको पहिलो घटना भने होइन । दुई वर्ष अगाडि श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले पनि आर्थिक मन्दीको कारणले भएको प्रदर्शनबाट बच्न देश छोड्नुपरेको थियो । सन् २०२२ जुलाई १३ मा उनले राष्ट्रपति भवन छोडे, देश छोडे । सैनिक जहाजबाट उनी सुरुमा माल्दिभ्स पुगे । त्यसपछि सिंगापुर । अनि थाइल्याण्ड । उनी ५० दिन देश बाहिर बसे । आन्दोलन चर्किएर मत्थर भइसकेपछि र सत्ता अरुको हातमा पुगेपछि मात्रै उनी देश आउन पाए ।

राजापाक्षेले श्रीलंका छोडेको पलभन्दा अगाडि देशै छोड्ने अनुमान कसैको थिएन् । त्यस्ता समाचार र विचार आएका थिएनन् । सोमबार हसिनाले भारत शरण लिनुभन्दा अगाडि पनि उनले देशै छोडेर भाग्नुपर्ने दिनको कल्पना कसैको थिएनभन्दा हुन्छ । आन्दोलनको सबैभन्दा उच्च माग उनको राजीनामा थियो । देश छोड भन्ने थिएन, तर आइतबारको ९० जनाको गोली हानी मारिएको घटनाले सबै परिस्थिति बदलियो । यसले जनआक्रोशको उभार आउँदा आन्दोलनको आँखा हुँदैन र आन्दोलनको कुनै सीमा हुँदैन भन्ने सन्देश दिएको छ ।

नेपालमा पनि नेताहरुप्रति जनताको आक्रोश छ । पहिले पुराना दलहरुप्रतिको आक्रोश क्रमशः नयाँमा पनि सरिरहेको छ । कांग्रेस तथा कम्युनिष्टहरु त धेरै समयबाट जनताले आक्रोश पोखेर पनि विकल्प नभएर चुनिएका ठूला दल भए । अहिले देशमा कांग्रेस र एमालेको सरकार छ । खुद्रा मसिना दलहरुविना सत्ता सहज चल्ने वातावरण छ ।

सत्ताको खेलमा नअल्झिएको बलियो सरकारसँग जनताका आशा पनि धेरै हुन्छन् । त्यो आशामा सरकारले एकएक गरेर कुठाराघात गरेमा जनता सडकमा नआउलान् भन्न सकिन्न । श्रीलंका र बंगलादेशमा जस्तो विद्रोह यहाँ नआओस् । त्यसको वातावरण नबनाउन अहिलेबाटै सोच्नुपर्दछ ।

स्थानीय, प्रदेश र संघको नेतृत्व गर्ने सबै दल तथा नेताहरुले समयमै गम्भीर भएर सोच्न ढिला गर्नु प्रत्युत्पादक हुनसक्ने विषय राजनीतिका विश्लेषकहरु बताइरहेका छन् । नेपालमा संघीय संरचना र हिन्दुराष्ट्रका विषयमा अलिक धेरै आलोचना भइरहेको छ । यस विषयलाई लिएर सडक आन्दोलन भयो भने अलिक बढी नै समस्या हुनेछ ।

यदि हेर्ने हो भने, बंगलादेशमा हालैका राजनीतिक घटनाक्रमहरू, विशेष गरी विभिन्न गुटहरू बीचको आन्तरिक शक्ति संघर्ष र फ्रान्सेली क्रान्ति पछिका घटनाहरू पूर्णतया समान छैनन् तर केही समानताहरू पक्कै छन् । उदाहरणका लागि, फ्रान्सेली क्रान्तिपछिको अवस्था जस्तै, बंगलादेशमा विभिन्न समूहहरूबीच राजनीतिक अशान्ति र सत्ता संघर्ष भएको छ । प्रजातन्त्र भएको र उत्कृष्ट संस्कृति भएकोले नेपाललाई फ्रान्स र बंगलादेशको क्रान्तिसँग ठ्याक्कै तुलना गर्न सकिँदैन ।