काठमाडौं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि प्रधानन्यायाधीश हसनले राजीनामा दिएका हुन् ।
शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वाेच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए ।
अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका हुन् । अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए ।
हसनले सर्वाेच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको पनि बताएका छन् । ‘राजीनामाका लागि केही औपचारिकताहरू बाँकी छन् । ती पूरा गरेर साँझसम्ममा राष्ट्रपति मोहम्मद शहाबुद्दिनलाई राजीनामा पत्र बुझाउँछु,’ प्रधानन्यायाधीश हसनले भने ।