• फाल्गुन २८ २०८२, बिहीबार

खानेपानीको महसुल बढाएको भन्र्दै १० दलले गरे मेयर हर्कसामपाङविरुद्ध नाराबाजी

श्रावण २४ २०८१, बिहीबार

धरान , २४ साउन । खानेपानी महशुल वृद्धिको विरोधमा आन्दोलनरत धरानका १० राजनीतिक दलले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईविरुद्ध नाराबाजी गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहित १० दलले यसअघि खानेपानी बोर्डमा तालाबन्दी गरेका थिए ।

तर उच्च अदालत विराटनगर तालाबन्दी नगर्न आदेश गरेपछि बुधबार ताला खोलेर दलहरू आन्दोलनको स्वरुप परिवर्तन गरेको भन्दै उपमहानगरपालिका घेराउ गर्न पुगेका हुन् । यसक्रममा उनीहरूले मेयर हर्कराजविरुद्ध नाराबाजी गरे । उनीहरूले ‘यस्तो मेयर चाहिँदैन’, ‘हर्क साम्पाङ मुर्दावाद’, ‘जनतामारा निर्णय फिर्ता गर’ जस्ता नारा लगाएका छन् ।

समयसापेक्ष महशुल तथा शुल्क वृद्धि गर्न बाध्य हुनुको कारण एसियाली विकास बैंक (एडीबी) को ऋण रहेको मेयर हर्कराजको दाबी छ । ‘मूल्य बढ्नु उचित होइन तर बाध्यतावश गरिएको हो’, उनले भने, ‘२०७४ सालयता वृद्धि भएको रहेनछ, समयसापेक्ष वृद्धि गर्नुपर्ने बाध्यता रह्यो ।’

उनले विगतमा खानेपानीको नाममा एडीबीबाट ल्याइएको ऋण तिर्ने उद्देश्यले नै महशुल बढाउनुपरेको जिकिर गरे । विगतमा दलहरूको सहमतिमा ऋण लिने सहमति भएको दाबी पनि उनले गरे । बोर्डले अहिले ५७ करोड १९ लाख रुपैयाँ एडीबीलाई ऋण तिर्न बाँकीरहेको राईले बताए । यो ऋण मिनाहा भए मूल्यवृद्धि फिर्ता गर्न तयार रहेको उनको जिकिर छ ।

‘गत वर्ष असारसम्म ६ करोड १ लाख ११ हजार ६८ रुपैयाँ तिर्न सकेनौं, यो वर्ष पनि दायित्व त्यति नै छ । यो तिर्नको लागि र प्रत्येक साल किस्ता घटाउदै लैजानको लागि पानीको बिल समयसापेक्ष संशोधन गर्न बाध्य भयौँ’, मेयर राईले भने, ‘हामीलाई ५१ करोड १७ लाख ९९ हजार ९ सय २२ रुपैया ऋण छ र एडीबीलाई बुझाउनुपर्ने कुल ५७ करोड १९ लाख १)० हजार ९९० रुपैयाँ छ । यो पैसा किन तिर्नुपर्छ कि त यो ५७ करोड १९ लाख मिनाहा गरिदिनुपर्छ अनि म मूल्यवृद्धि फिर्ता लिइहाल्छु ।’

१० दलको अपिल
आन्दोलित १० दलले पुरानै दररेट कायम नभएसम्म खानेपानीको महसुल नबुझाउन उपभोक्तालाई अपिल गरेका छन् । आइतबार साँझ संयुक्त अपिल जारी गर्दै उनीहरूले बढेको मूल्य नतिर्न आग्रह गरेका हुन् ।