• मंसिर ११ २०८१, मंगलवार

महिनावारीको समयमा सरसफाईको कमीले आउने समस्या

श्रावण २३ २०८१, बुधबार

सरसफाईको महत्व जताततै छ। महिनावारीमा विशेष ध्यान दिन आवश्यक छ।

महिनावारी भएको समयमा संक्रमण हुने सम्भावना उच्च रहन्छ। डा ज्योति अग्रवालका अनुसार रगत यस्तो माध्यम हो, जसमा जिवाणु छिटो हुर्किने गर्दछन्। लगातार रगत बगिरहेको छ तर सरसफई छैन भने जिवाणुहरु योनीमार्ग हुँदै पाठेघरसम्म पुग्न सक्छन्।  जसबाट संक्रमण हुने गर्दछ।

जिवाणु योनीमा प्रवेश गर्दा सेतो गन्हाउने पानी बग्ने हुन्छ। जिवाणुहरुको प्रवेश पाठेघरसम्म पुग्यो भने पाठेघरको मुखमा घाउ हुने, पाठेघर सुन्निने डिम्वबाहिनी नली बन्द हुने र सुनिने जस्ता समस्याहरु देखा पर्ने बताउँछिन् वरिष्ठ स्त्री रोग विशेषज्ञ डा  चन्दा कार्की। तल्लो पेट दुख्नुमा पनि जिवाणुहरु कारक हुन सक्ने उनले बताइन्।  उनी भन्छिन्, ‘कहाँसम्म जिवाणुहरु प्रवेश गरे र कुन मात्रामा प्रवेश गरे त्यसै अनुसारको समस्या उत्पन्न गराउँछन्।’

यस्ता समस्याहरुबाट जोगिन विशेष ध्यान दिन आवश्यक छ। नेपालका ग्रामीण भेगका महिलाहरु महिनावारीमा फोहोर कपडा प्रयोग गर्ने प्रचलन छ। जसले उनीहरुमा गुप्तांगको संक्रमणको समस्या बढी देखिन्छ।  पछि गएर अन्य प्रजनन अंगमा पनि संक्रमण हुने सम्भावना उच्च रहने डा अग्रवालले बताइन्।

चेतनाको अभावका कारण महिनावारीमा प्रयोग गरेको कपडा सूर्यलाई देखाउनु हुँदैन भन्ने परम्परागत मान्यता कतिमा रहेको छ।  घाममा सुकाउँदैनन् र अँध्यारामै राख्छन्। पटक पटक महिनावारी हुँदा फेरि त्यही कपडाको प्रयोग गर्दछन्। यसरी जथाभावी प्रयोग गरेको कपडाले भित्रि अंगमा संक्रमण हुने संभावना हुने डा कार्कीले बताइन्। यस्तो रोक्न कपडा चर्को घाममा सुकाउने र त्यस्तो कपडा नरम  सुतिको हुन आवश्यक हुन्छ। रगत लागेको कपडा प्रयोग गर्नुहुँदैन।

चिकित्सका अनुसार प्रयोग गर्ने कपडामा ध्यान दिइएन भने शरीर गन्हाउने, काछमा घाउ आउने र संक्रमण हुने समस्या निम्तिन सक्छन्। सहरिया महिलाहरु आधुनिक स्यानिटरी प्याड प्रयोग गर्छन्।  यसले दैनिक क्रियाकलापमा पनि सहजता ल्याउनुका साथै स्वस्थ बनाउँछ। जसले सधै प्याड किन्न सक्दैनन्, उनीहरुले औषधी पसलबाट रुवा किनेर ल्याउने, यसलाई सानो भागमा बाँड्ने र तिनलाई सुतिको कपडामा बेरेर प्याड पनि बनाउन सकिने डाक्टहरुको सल्लाह छ।

किशोरा अवस्थामा प्रवेश गर्दै गरेकी बालिकालाई महिनावारी सम्बन्धी जानकारी दिन एकदम जरुरी ठान्छिन् डा अग्रवाल। ‘महिनावारीका बारेमा शारिरीक मात्रै होइन, मानसिक हिसावले पनि परिपक्क बनाउनु आवश्यक हुन्छ,’ उनले भनिन्, ‘त्यसैले यस सम्बन्धि ज्ञान किशोरा अवस्थामा प्रवेश गर्दै गरेकी छोरीलाई दिन आवश्यक छ।’ उनीहरुलाई महिनावारी सम्बन्धी प्रकाशित वा प्रसारित सामग्री हेर्न लगाउने गर्नुपर्छ।  रजस्वला जुनसुकै समयमा पनि हुन सक्ने भएकाले विद्यालयका मिसहरुलाई लाज नमानी त्यसको बारेमा बताउने तयारी अवस्थामा राख्न जरुरी छ।