काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिको नेतृत्व आफ्नो पार्टीलाई दिन माग गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा माओवादी सांसद माधव सापकोटाले संसदीय मूल्य–मान्यतामा सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलबाट हुने उल्लेख गरे ।
नैतिकता र पारदर्शीता भए लेखा समितिको नेतृत्व प्रतिपक्ष दललाई दिन उनले आग्रह गरे । ‘संसदीय मूल्य–मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलमा हुन्छ । नैतिक हो ।
यो सरकार, यसले पारदर्शी काम गर्छ भने सभापति तत्काल प्रतिपक्षलाई दिओस,’ उनले भने, ‘अहिलेको सार्वजनिक लेखा समिति सभापतिले रहस्यमय घटना घटाइरहनुभएको छ, यसका लागि सभामुखबाट रुलिङ चाहन्छु ।’ हाल सार्वजनिक लेखा समितिको सभापति नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेल छन् ।