• मंसिर १२ २०८१, बुधबार

दुई महिनामै एक करोड ८० लाखका सुपारीका बिरुवा बिक्री

श्रावण १९ २०८१, शनिबार
झापा, १९ साउन । जिल्लामा दुई महिनाको अवधिमा रु. एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् ।
सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए । ‘अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्’, उनले भने, ‘अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।’
मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आएका नारायाण रिजालले यसपाली सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताए । जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनको ठम्याइ छ ।
उनले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काएका थिए । असारसम्ममा १० हजार बिरुवा बिक्री भइसकेको र अब पाँच हजार बिरुवा नर्सरीमा रहेको उनले जानकारी दिए । बिक्री भएका १० हजार बिरुवाबाट उनले रु. १२ लाख आम्दानी गरेका छन् ।
किसानहरुले सुपारीका बिरुवा प्रतिगोटा रु. एक सयदेखि रु. एक सय २० सम्ममा किनेर लैजाने गरेका छन् । जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका बिरुवा बिक्री गर्दै आएका छन् ।
‘सहकारीले उत्पादन गरेका बिरुवासमेत खरिद गरेर किसानहरुलाई बेच्दै आएको छु’, उनले भने ‘मागअनुसारको बिरुवा उपलब्ध गराउन गाह्रो भइरहेको छ ।’ भारतीय व्यापारीले टिस्यूकल्चर गरिएको, हाइब्रिड जातको र तीन वर्षमै फल्ने भनेर ग्रामीण क्षेत्रमा डुलाएर बिक्री गर्दै आएको सुपारीका बिरुवासँग भने किसानहरु होसियार हुनुपर्ने नर्सरी व्यवसायी रिजाल बताउछन् ।
‘सुपारीका बिरुवा रोपेको छ वर्षमा फल्ने हो, तीन वर्षमा होइन’, उनले भने , “किसान साथीहरु होसियार हुनुहोस, टिस्यूकल्चर गरेको सुपारीकै बिरुवा हुँदैन ।’ सुपारीका बिरुवामा झापा आत्मनिर्भर रहेको हुँदा आयातित बिरुवा प्रयोग नगर्न उनले आग्रह गरे ।
सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष तिवारीले जिल्लामा तीन हजार छ सय ७५ हेक्टर जमिनमा सुपारीखेती रहेको बताए । केही वर्षयता धान र चियाखेती मासेर किसानहरुले धमाधम सुपारीका बिरुवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको उनको भनाइ छ ।
झापा सुपारीखेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ । हात्ती लगायतका जङ्गली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा किसान वैकल्पिक खेतीको रुपमा सुपारीतर्फ आकर्षित भएका हुन् ।