• मंसिर १२ २०८१, बुधबार

एमाले पार्टी बैठक बसेरा होटेलमा बस्दै

श्रावण १७ २०८१, बिहीबार

काठमाडौं । नेकपा एमालेको पार्टी सचिवालय बैठक हनुमान्स्थानस्थित बसेरा होटलमा बस्ने भएको छ ।

मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएपछि होटेलमा बस्न लागेको हो । सरकारी निवासमा बैठक बस्न सक्ने भएपनि नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने बताएका छन्।

बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले फेसबुक पोस्टमा भनेका छन्, ‘‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनुभएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।’

एमालेको सचिवालय बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री ओलीले पार्टी कार्यालय मनोहरा खोलामा आएको बाढीले डुबानमा परेकाले बैठक अन्यत्र बस्न लागेकोसमेत जानकारी गराएका छन्।

‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ’, उनले थप भनेका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक हनुमानथानस्थित बसेरा होटलमा बिहान ११ बजे सुरु हुनेछ।