चितवन, कमल बुढा । हिजोदेखि चितवनमा जारी नेकपा (बहुमत) को प्रथम विस्तारित बैठक आज सम्पन्न भएको छ । बैठकले पार्टीको महासचिवमा धर्मेन्द्र बास्तोला कञ्चनलाई चयन गरेको छ ।
गत साउन १ गते मोहन वैद्यको नेतृत्वको पार्टीसँग एकता प्रकृया असफल भएको घोषणा गरि साविककै पार्टी पुनर्गठन गरेको बहुमतले पुस ११ गते माओ जयन्तीको अवसरा पार्टीको ९औं महाधिवेशन उद्घाटन गर्ने निर्णय गरेको छ ।
हाल कायम रहेको ६ सदस्यीय कार्यालय, २६ सदस्यीय सचिवालय र ५५ सदस्यीय केन्द्रीय समिति विघटन गरि ८७ सदस्यीय महाधिवेशन आयोजक समिति निर्माण गरेको छ । बैठकमा वैद्यसँग एकता असफल हुनुको कारण र आगामी काम बारे १० पेज लामो राजनीति प्रस्ताव पेश गतिएको थियो ।
उक्त प्रस्तावमाथी छलफल गर्न ९ वटा समूह विभाजन गरि समूहमा उठेका विषय ग्रुप लिडरमार्फत् रिपोर्टिङ गरिएको थियो । रिपोर्ट राख्ने अधिकांश वक्ताहरुले वैद्यहरुलाई रुपान्तरण गरि क्रान्तिमा डोहोर्याउन नसकेको भन्दै नेताहरुको आलोचना गरेका थिए भने दास्तावेजमाथी आफ्ना सुझावहरु पेश गरेका थिए ।
दस्तावेजमा किरणमाथी विभिन्न आरोपहरु लगाइएको छ भने साविकको बहुमतको तर्फबाट हेमन्तप्रकाश वली ‘सुदर्शन’ले धोकेबाजको भूमिका खेलेर क्रान्तिकारी धारलाई वैद्यमा बिलय गराउन गरेका हर्कत बारे उल्लेख गरिएको छ ।