• आश्विन १३ २०८१, आईतवार

रोदी गुरुङको कि मगरको ?

श्रावण १४ २०८१, सोमबार

रुकुमूर्वको तकसेरा र आसपासका गाउँमा सुटिङ भएको घरज्वाइँ चलचित्र यतिखेर नेपाल र नेपाल बाहिरका फिल्म हलमा प्रदर्शन भैरहेको छ। अनिल बुढामगरको कथा र निर्देशन तथा जनक घर्तीमगरको निर्माण रहेको यो चलचित्र मगर आदिवासी समुदायको मौलिक कथामा आधारित छ । समुदायको प्रथाजनित अभ्यासको प्रधानतामा पात्रहरुले नेपाली मुलधारे सामाजिक मूल्यभन्दा फरक पृष्ठमा रहेर जीवन्त अभिनय प्रदर्शन गरेका छन् ।

चलचित्रमा तकसेराको मगर समुदायको सामाजिक सम्बन्ध, आर्थिक गतिविध, सांस्कृतिक जीवन र राजनैतिक शक्ति सम्बन्धको विविध आयामहरु प्रस्तुत गरिएको छ । चलचित्रको मूल कथा चाहीँ मगरशैलीको प्रेमकथा हो । घरज्वाइँ मार्फत् मगर समुदायको कथा नेपाली सिनेक्षेत्रको मूलधारमा प्रवाहीकरण हुँदै गर्दा चिलचित्रमाथि तमु धीँ नेपालले गुरुङ समुदायको रोदी प्रथाको दुरुपयोग गरेको आरोप लगाएको छ । चलचित्रको संवाद र दृश्य सच्याउन विज्ञप्ती निकाल्दै चलचित्र जाँच समितिमा समेत उजुरी दिएको छ ।

तमु धीँ नेपालले आपत्ति जनाउँदै पोखराका केही चलचित्र हलमा घरज्वाइँ प्रदर्शन गर्न अनिश्चितकालका लागि बन्द गरेको छ । यता नेपाल मगर संघ, मगर लेखक संघ, अठार मगरात मगर कलाकार संघ लगायतका मगर समुदायका संघ–संस्थाबाट रोदी मगर र गुरुङ समुदायको साझा संस्था हो भन्दै प्रतिकृयात्मक विज्ञप्ती निकालेका छन् । गण्डकी क्षेत्रको गुरुङको रोदी तकसेराको मगर गाउँमा प्रयोग भएकै हो त ? सार्वजनिक रुपमा सवाल उठेपछि दर्शकको आँखाबाट यसलाई केलाउने कोशिस गरेको छु ।

घरज्वाइँ र मगर संस्कृतिको तादम्यता :
घरज्वाइँ फिक्सन चलचित्र भएपनि मगर मौलिक संस्कृति अभिव्यक्त भएको छ । रोल्पा र रुकुमका ग्रामिण क्षेत्रमा महिलाहरु अल्लो, भाङ्गो, भेडाको ऊन लगायतको धागो काटेर हिंडेको देख्न सकिन्छ । हातले काम गर्नुपर्ने अवस्था बाहेक हरेक क्षण महिलाहरुको हात खाली हुँदैन । गोठालो जाँदा, मेला जाँदा, घरमा बस्दा, कसैसँग गफिँदा, समाज भेला हुँदा टाकु चलाइरहेका हुन्छन् ।

धागो काट्नु ग्रामिण महिलाहरुको आर्थिक जीवनको महत्वपूर्ण पाटो हो । महिलाहरु धागोबाट कम्बल, बोल्ला, झोला जस्ता बस्तु घरमै उत्पादन गर्न सक्छन् । धागो गाउँ मै पनि विक्री गर्न सक्छन् अथवा बाहिर पनि बेच्न सक्छन् । यीनका बजार ठमेल, पोखरा, दाङ, बुटवल लगायतका सहरी क्षेत्र हुन् ।

छोरीहरुको पेवा प्रथा मगर समुदायमा महिलाको आर्थिक सशक्तिकरणको महत्वपूर्ण पाटो हो । यसले छोरीहरुको उमेर विकाससँगै आर्थिक सबलीकरण हुँदै जान्छ । यसमा उनीहरुले घरायशी जिम्मेवारीको अतिरिक्त समयमा पेवा वृध्दिको लागि अर्थोपार्जनमा संलग्न हुन्छन् । दिदी बहिनी तथा साथीहरुबीच मै पेवा वृद्धिको प्रतिष्पर्धा हुन्छ ।

यसले उनीहरुलाई तुरुन्त नगद आय हुने धागो काट्ने काममा उत्प्रेरित गरिराख्छ । विद्यालय शिक्षा प्रणालीले छोरीहरुको संलग्नता केही घटाएपनि उत्तरी रोल्पा, रुकुमपूर्व र पश्चिम बाग्लुङको ग्रामिण छोरीहरुको जीवनमा धागो काट्नु र तान बुन्नु आज पनि आम आर्थिक संस्कृतिकै रुपमा जीवित छ ।

हलो जोत्नु, डोको बुन्नु, सिकार खेल्नु, लाहुर जानु लगायतका काम आजपनि रोल्पा रुकुमका पुरुषहरुको आर्थिक जीवनका महत्वपूर्ण पहेलु हुन् । चलचित्रमा यी कुराहरुलाई प्रतिविम्बित गरेको देखियो । फिक्सन चलचित्रले मगर बस्तीको जीवन्त प्रस्तुति उत्कृष्ट तरिकाले पर्दामा उतारेको पाउन सकिन्छ । यति भनिरहँदा भाषामा तकाली लवज भने छुटेको महसुस भएको छ ।

धापा चुङ्न्या मगर परम्परालाई चलचित्रमा दुरुस्तै प्रस्तुत गरिएको छ । यसमा मगर दर्शकको आँखाले हेर्दा आफै त्यहाँ उपस्थित भएको महसुस हुन्छ । सोरोको बुवा मैते रमाले आफ्नो जवानीमा धापा चुङको स्मरण बडो मज्जासँग सुनाउँछ । सुनेर सोरो मुसुक्क मुस्काउँछ ।

रोदी प्रथा र धापा चुङ्न्या :
वि.सं २०१५–२० सालसम्म रोल्पा र रुकुमका गाउँमा रोदी प्रथा अस्तित्वमा रहेको भूमे गाउँपालिका रुकुमपूर्वका तिलक रोकामगरले बताए । रोल्पा रुकुमको रोदी भने गण्डकी क्षेत्रको गुरुङ र मगरको रोदी भन्दा भिन्न रुपमा अभ्यासमा थियो ।

रोल्पा रुकुममा प्रचलित रोदीको नामाकरण मगर खामको ‘रो’ र ‘दी’ शब्दहरुको समासबाट निर्माण भएको हो । रो भनेको कुराकानी र दी ले ‘हो’ जनाउँछ । ‘दी’ को भावार्थ निश्चित गर्नु हो । जस्तो झिम दी.घर हो, भै दी.खोला हो, नम दी. आकाश हो, रोदी. कुराकानी हो आदि ।
पहिले पहिले गाउँमा रोदी धान्या अर्थात् रोदी गर्ने भनिन्थ्यो । खासगरी मकै बालीको फसल उठाइसकेपछि, हिउँदे बाली जहुँगहुँ भित्र्याइसकेपछि तथा विभिन्न पर्वहरुको जोख पारेर रोदी गर्ने प्रचलन थियो । रोदी गर्दा गाउँको मुखियाबाट पूर्वस्वीकृत लिनुपथ्र्यो । रोदीमा विवाद तथा अन्य समस्या आएमा मुखियाले नै सुल्झाउनुपर्ने हुँदा मुखियाको अग्रिम स्वीकृति आवश्यक पथ्र्यो ।

रोदीको स्थायी स्थान हुँदैन थियो । गाउँको ठूलो घर वा खाली घरमा रोदी गरिन्थ्यो । रोदीमा बुढापाका, युवायुवती र केटाकेटी सबै भेला हुन्थे । रोदी गर्दा साकासिलू सुनाउने, गीत गाउने, नाच्ने र हाँसो ठट्टा गर्ने गरिन्थ्यो । रोदीमा मिलेसम्म केटाकेटीको विहेको कुरा पनि छिनाएर निश्चित गर्ने गरेको तिलक रोकामगरले आफ्नो बुवाबाट सुनेको बताए ।

रोदी गर्दा विभिन्न व्यक्तिका साहसिक कथा, गाउँको गौरवका विषय, समुदायको इतिहास तथा मिथकहरु सुन्ने सुनाउने गरिन्थ्यो । यी कथाहरु लस्के भाका तथा झाम्रे लयमा समेत प्रस्तुत गर्ने गरिन्थ्यो । रनवन तथा गोठालो जाँदा गाउनेले रोदीमा गाउन सकेन भने तन्त्रका माध्यमले फुकाउने गरिन्थ्यो । यसले पुराना पुस्ताबाट नयाँ पुस्तामा सूचना र ज्ञान हस्तान्तरण हुन्थ्यो । रोदी खासगरी कुरा सुन्ने सुनाउने र बाली भित्र्याएको निश्चित गर्ने सामुहिक विधि हो । हाल यो प्रथा रोल्पा रुकुमका मगर समुदायबाट पूर्णरुपमा लोप भैसकेको छ ।

धापा चुङ्न्या परम्परा खासगरी  Collective Dating  हो । रोल्पाका मगर खाम साहित्यकार र मगर संस्कृतिका अध्ययता जीवन प्रवेश रोकामगरका अनुसार धापा चुङ्न्या सामुहिक रुपमा केटीहरु भेला हुने ठाउँमा केटाहरु मादल र बाँसुरी बोकेर पुग्छन् । सबै मिलेर नाचगान गर्ने, ठट्टा गर्ने, दोहोरी गाउने गर्छन् । यो केटाकेटीहरु बीच चिनजान, एकले अर्कालाई बुझ्ने र मन मिलेपछि विवाह पनि गर्ने प्रकृया हो । धापा चुङ्न्या रोदी जस्तो एकै गाउँभित्र सीमित हुँदैन ‍। युवाहरु एक गाउँबाट अर्को गाउँ जानुपर्छ । यो सामुहिक र सार्वजनिक बसाई हुने भएकोले यहाँ करणीलाई स्थान दिइँदैन ।

घरज्वाइँमा पनि सोरोको समूह तकसेराबाट धापा बस्न बाछीगाउँ जान्छ । यो प्रथा पनि वि.सं २०५४–५५ देखि देशको राजनैतिक परिस्थितिसँगै लोप भैसकेको छ ।

दृश्यमा युवतीहरुले ऊन कातिरहेको दृश्य देखिन्छ । धागो काट्नु र तान बुन्नु बाछीगाउँलेनी महिलाहरुको आज पनि दिनचर्या हो । युवतीहरु पेवा वृद्धिका लागि आजपनि भेला भएर धागो कात्ने परम्परा छ । गाउँमा साँझ अबेलासम्म धागो काटेर बस्नु आम महिलाहरुको दैनिकी हो । फिक्सन चलचित्रमा देखाइएको भएपनि यो नक्कल नभएर मगर समुदायका महिलाहरुको यथार्थ हो ।

एउटै घरमा लस्करै केटाकेटीहरु सुतिरहेको दृश्यलाई केहीले आपत्तिजनक रुपमा हेरेको देखियो । यो खासमा दृष्टि भ्रम हो । मगर समुदायमा परापूर्वकालदेखि प्रचलित घरको आर्किटेक्ट र मगरको आफ्नै नैतिक नियमनलाई नबुझी बाह्य आँखाले हेर्नु हो । मगर समुदायको घरको परम्परागत इन्टेरियर आर्किटेक्टमा घूर, चुल्हो र पटाहा मुख्य ३ भाग हुन्छन् । यी ३ भागको आ–आफ्नै महत्व र अर्थ छ । विभागीय रुपमा स्थान तोकिए पनि अहिलेको आधुनिक घर जस्तो पार्टिसन गरिएको हुँदैन । घरको भित्री भाग हल जस्तै खुला हुन्छ ।

भेला भएका युवायुवतीहरु विभिन्न नाता सम्बन्धले जोडिएका हुन्छन् । सबै नाता सम्बन्ध ठट्यौली सम्बन्ध हुँदैन । आपसमा मर्यादित नाता सम्बन्ध पनि हुन्छ । त्यहाँ घरमूली पनि सँगै हुन्छन् । साइनो मिले वा मन मिलेपछि केटाले केटी भगाएर लैजान सक्छ तर सँगै हलमा सुतेकै आधारमा अनैतिक सम्बन्ध भैहाल्ने विचार आउनु मानसिक विकृति हो । धापा चुङ्न्या  Collective Dating  भएकोले हरेक व्यवहार सार्वजनिक र पारदर्शी हुन्छ ।

धापा चुङ्न्या परम्परालाई किन रोदी भनेर संवादमा राखियो भन्ने प्रश्नमा निर्देशक अनिल बुढामगरको जवाफ छ, ‘सोरो भर्खरै सहरबाट पढेर तकसेरा फर्केको हुन्छ । उसले धापा चुङ्न्या अभ्यास जानेको हुँदैन । उसलाई तकसेरा गाउँको जीवनसँग अभ्यष्ट बनाउनु पर्नेछ । पाइन्ट र सर्ट पहिरिएको सोरोलाई क्रमशः मगरको छड्केमा अभ्यष्त बनाइन्छ । त्यसरी नै सहरको रोदी साँझ बुझेको सोरोलाई अभ्यष्त बनाउन आमरुपमा बुझिने शब्द रोदी प्रयोग गरिएको हो । यसमा गण्डकीको गुरुङको रोदीको नक्कल गरिएको छैन । शुद्ध बाछीगाउँको चलन उतारिएको हो । यो नेपाली भाषाको चलचित्र भएको हुँदा सकेसम्म सबैले बुझ्न सजिलो हुने शब्द प्रयोग गरिएको मात्र हो ।’

रोदी सबैले बुझ्ने आम नेपाली शब्द बनिसकेको छ । रोदीको व्यवसायिक भर्सन दोहोरी साँझ भनेर सबैले बुझेकै छन् । यसैको पृष्ठमा अहिले सयौँको संख्यामा सहरी क्षेत्रमा रात्री व्यवसायी चलिरहेका छन् । यस अवस्थामा एउटा फिक्सन चलचित्रले आफ्नो पात्रलाई कथाको लयमा जोड्न राखेको संवाद यति आपत्तिजनक हुनु नपर्ने हो ।

हिन्दु धार्मिक दर्शनले निर्दिष्ट गरेको स्त्री र यौनको मानकको मनोवैज्ञानिक सोचबाट ग्रस्त पूर्वाग्रही सवाल व्यक्त भएजस्तो लाग्यो । जसको जगमा गण्डकीका गुरुङ र मगर गाउँको रोदीलाई अनैतिक स्थलको ट्याग लगाएर सखाप पारियो । जबकी क्रसकजिन म्यारिजको प्रथाजनित प्रणालीको नैतिक बन्धनमा बाँधिएको समुदायमा यो प्रश्न कहाँबाट घुस्यो ? यसले मलाई गण्डकी क्षेत्रको रोदीको इतिहास, उत्पत्ति र समाजशास्त्रीय सान्दर्भिकताको खोजी गर्ने हुट्हुटी जगाइदियो ।

गण्डकी क्षेत्रको रोदी र रोधीको सन्दर्भ :
D.A. Messerchmidt, A. Macfarlane, डोरबहादुर विष्ट र सरोज पन्त लगायतका अध्ययताले गुरुङ समुदायको अध्ययनमा ‘रोधी’ शब्दको प्रयोग गरेका छन् । यस्तै नेपाली वृहद शब्दकोषमा गुरुङ समुदायसँग जोडेर रोधी शब्द प्रयोग भएको पाइएको छ ।  Ellen Andors को सन् १९७६ मा INAs मा प्रकाशित Rodighar and It’s Role in Gurung Society नामक पुस्तकमा भने ‘रोदी’ शब्द प्रयोग भएको छ ।  Jhon T. Hitchcock  को सन् १९६६ मा प्रकाशित उनको पुस्तक  Jhon T. Hitchcock पनि ‘रोदी’ शब्द प्रयोग गरेका छन् । त्रिभुवन विश्वविध्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालमगरले पाल्पा, स्याङ्जा र तनहुँका मगरहरुको संस्कृति नामक पुस्तकमा रोदी शब्दको प्रयोग गरेका छन् । यस्तै रोदी र कौरा नाच नामक पुस्तकका लेखक तनहुँबासी दानबहादुर आलेमगरले पनि ‘रोदी’ शब्द प्रयोग गरेका छन् ।

अवधारणात्मक र समाजशास्त्रीय कार्यात्मक दृष्टिले मगर र गुरुङ समुदायमा रोदी र रोधीको एकै खालको भूमिका छ । नामाकरणको सन्दर्भमा मगर र गुरुङले आ–आफ्नो दावी पेश गरेको देखिन्छ । दुवै समुदायमा आ–आफ्नो भाषाले निर्माण गरेको समास र विग्रहको स्वतन्त्र व्याख्याका आधारमा यी शब्दहरु परिभाषित छन् ।

बोलीचालीमा रोदी भन्ने गरिए पनि लेखनमा मगर समुदायमा ‘रोदी’ र गुरुङ समुदायमा ‘रोधी’ शब्दको प्रयोग गरेको पाइएको छ । लेखन अभ्यास नभएको भए दुवै समुदायले रोदी नै भन्थे होलान् । गण्डकी क्षेत्रका मगर र गुरुङ समुदायमा रोदी अथवा रोधीको नाम, उत्पत्ति र इतिहासको आ–आफ्नै दृष्टिकोण छ ।

मगर समुदायको दृष्टिकोण :
गण्डकी क्षेत्रका मगर समुदायमा रोदी शब्द रुङ् र दी बाट बनेको भनिएको छ । यसमा रुङ् भनेको कुर्नु र दी भनेको पानी हो । यसको सामान्य अर्थ पानी कुर्नु हो ।
रोदीको खोजकर्ता दानबहादुर आलेमगरका अनुसार रोदीको उत्पत्ति तनहुँको रिसिङमा भएको दावी गरेका छन् । उनका अनुसार रोदी र कौरा अन्योन्याश्रित रुपमा एकै स्थान र परिस्थितिमा उत्पत्ति र विकास भएका हुन् ।

उहिल्यै रिसिङमा बसन्त र गर्मी याममा खानेपानीको निकै अभाव हुन्थ्यो । मानिसहरु पानी भर्न पँधेरामा लाइन लाग्नु पथ्र्यो । राती पानी बढी जम्मा हुने हुँदा युवायुवतीहरु राती पानी भर्न पधेँरामा भेला हुन्थे । पानी भर्न भेला भएकाहरु बसीबियाँलो गर्न खाली भाँडा ठटाउँदै नाच्ने गर्थे । यसरी खाली भाँडा ठटाउँदै नाच्दा नाच्दै कौरा नाचको विकास भएको विश्वास छ । पछि यसलाई थप परिमार्जन गरियो । यो नाच वि.सं १९२० तिर तनहुँ जिल्लाको दक्षिण भिर्कोट दुबुङ नरम छेरङ्ग जामडाँडा लगायतको क्षेत्रका मगर समुदायमा समृद्ध भैसकेको खड्क आलेमगरले साँस्कृतिक अगुवा चिरन्जीवी आले र गौरीमा आलेलाई उदृत गर्दै कौरा नाचबारे लेखमा उल्लेख गरेका छन् ।

सोही समयमा पानी भर्न जानेहरु रातभरी बस्नु पर्ने हुन्थ्यो । राती शीत पर्छ भनेर पधेँराको छेउँमा टहरो बनाएर बस्थे । टहरो बनाएर पानी भर्न पालो कुर्थे । पानीको पालो कुर्नेलाई मगर भाषामा रुङ् दी भनिन्छ । टहरोमा बसेर पालो कुर्ने भएकोले त्यो टहरोलाई रुङ्दी र पछि रोदी भनिएको हो ।

केही समयपछि रोदी गाउँतिर सर्यो । मगर गाउँमा आजभोलि पनि टहरो निर्माण गरी रोदी बनाउने चलन छ ।  Hitchcock ले सन् १९६६ मा बन्यान हिलमा ३ वटा रोदी रहेको लेखेका छन् । रोदीलाई हस्तकला र फूलले सजाएर आकर्षक पारिन्छ । पाको महिलाको संरक्षणमा रोदी संचालन हुने दानबहादुर आलेमगरले बताउनु भयो ।

उहिले युवतीहरुले रोदीमा हटेउरी बाट्ने, कपासको धागो कात्ने गर्थे । यस्तै युवाहरुले चोयाँ कात्ने गर्थे । रोदीमा सहभागी हुँदा साइनो लाएर मात्र बोल्न पाइने नियम हुन्थ्यो । केटाकेटीलाई मर्यादा सिकाइन्थ्यो । गाउँमा पर्मको सल्लाह रोदी मै हुन्थ्यो । कौरा नाच रोदीमा अनिवार्य हुन्थ्यो । रोदीमा युवा र युवतीले विभिन्न भाकामा दोहोरी गीत गाउने गर्थे ।

प्राध्यापक डा. केशरजंग बरालमगरले पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति नामक पुस्तकमा रोदीको बारेमा लेखेका छन् । मगर ठिटाठिटीहरु रोदीमै चिनापर्चि हुन्छन् । उनीहरुको प्रेम रोदीमा बस्ने र विवाह पनि हुने उल्लेख गरेका छन् । केटाहरु विवाह अघि र पछि समेत रोदी बस्छन् भने केटीहरु विवाहपछि रोदी बस्दैनन् । डा. मिन श्रीसका अनुसार रोदी गण्डकी क्षेत्रका मगर र गुरुङ समुदायमा समान ढंगले अभ्यासमा रहेको परम्परागत संस्था हो । रोदीमा गुरुङ र मगरले आ आफ्नो सामुदायिक आवश्यकताका आधारमा विविधकरण गरेपनि यो साझा अमूर्त संस्कृति हो भनेका छन् ।

यस्तै प्राज्ञ डा. विष्णु सिंजालीका अनुसार यो मगर समुदायको प्रथाजनिक संस्था हो जो समुदायको गन्यमान्य परिवारले संचालन, नियमन र नियन्त्रण गर्दछ । रोदी विधिविधान अनुसार मगर समुदायमा संचालन हुन्छ । गाउँमा विद्यालय शिक्षा शुरु हुनुभन्दा पहिले रोदी सामुदायक प्रशिक्षण केन्द्रको रुपमा थियो । गाउँ खानेकथा, चकटी बुन्ने, गीत गाउने, नाच्ने रोदीमै सिकाइन्थ्यो । नाच्न नजान्नेलाई नाच सिकाउने तथा गाउन नजान्नेलाई गाउन सिकाइन्थ्यो । यहाँ विभिन्न जीवन उपयोगी शीप नयाँ पुस्तालाई हस्तान्तरण गरिन्थ्यो । रोदी नयाँ पुस्तालाई साइनो सम्बन्ध चिनाउने र अभ्यास गराउने थलोको रुपमा लिइन्थ्यो ।

माथिका तथ्यबाट भन्न सकिन्छ, मगर रोदीमा आर्थिक क्रियाकलाप, नाता जोडेर मर्यादा सिकाउने, नाचगान तथा सामुहिक श्रमको योजना लगायतका सामाजिकीकरण र मनोरञ्जनात्मक क्रियाकलाप हुने गर्दछन् ।

गुरुङ समुदायको दृष्टिकोण :
गुरुङ समुदायमा ‘रो’ र ‘धी’ बाट रोधी बनेको विश्वास गरिन्छ । ‘रा’ को अर्थ कतै सुत्नु र कतै बुन्नु भनेर अथ्र्याइएको छ । यस्तै ‘धी’ भनेको गुरुङ भाषामा घर हो । रोधीले सुत्ने अथवा बुन्ने घर भन्ने अर्थ लाग्छ ।

सुत्ने घर भनेर अर्थ लगाउनेहरुले रोधीलाई सिकारी युगसँग जोडेका छन्, उहिल्यै उमेर पुगेका जवानहरु सिकार खेल्न जान्थे । जंगली जनावरको आक्रमणबाट बच्न बृद्धबृद्ध, बालबालिका र महिलाहरु गाउँको बीचको ठूलो घरमा जम्मा भएर सुत्थे । जम्मा भएर सुत्ने घरलाई रोधी भनियो । यस्तै पशुपालनसँग जोडेर ब्याख्या गर्नेहरुको भनाई अनुसार, गुरुङ समुदायको मुख्य पेशा भेडा पालन हो । राडीपाखी बुन्ने काम रोधीमा गरिने भएकोले बुन्ने घर भनेर रोधी भनिएको विश्वास छ भनी रोधी डिजिटलले प्रकाशित गरेको छ । गुरुङ समुदायले रोधी प्रथालाई आफ्नो प्रथाजनित संस्थाको रुपमा दावी गर्दै आएको छ ।

Ellen Andors ले सन् १९७६ मा लमजुङका गुरुङ समुदायमा प्रचलित रोदी प्रथाको बारेमा अध्ययन गरेका थिए । उनले समान किसिमको नाम र अवधारणा भएको रोदी संस्था गुरुङका अलावा मगर समुदायमा पनि रहेको उल्लेख गरेका छन् । उनले रोदीलाई रात्रीकालिन सामाजिक भेला हुने स्थान भनेका छन् भने यसलाई अर्धस्थायी छात्राबास भनेका छन् जहाँ गाउँका केटाकेटीहरु जमघट भएर गीत गाउने, कुराकानी गर्ने र हाँसो ठट्टा गर्ने गर्दछन् ।

रोधीमा युवा युवतीको समूह अलग अलग हुन्छ । यो समूहलाई रोप्स्यो भनिन्छ । उमेर अनुसारको रोप्स्यो समूहहरु रोधीमा हुन्छन् । केटाले स्थापना गरेको रोधीमा केटी र केटीले स्थापना गरेको रोधीमा केटाहरु जाँदा कोशेली लगेर जानुपर्छ । रोधीमा रोप्स्यो नाइके वा गन्यमान्य बोलाएर धीँम्ए रीँम्ए, थीँम्ए म्हम्ए गरेर साइनो लगाइन्छ भनेर रोधी डिजिटलले विस्तृत रुपमा प्रस्तुत गरेको छ ।

रोधीमा बुन्ने, तुन्ने र ऊनचलनको कामसँगै मकै छोड्याउने तथा भोलिको मेला कस्को गर्ने भन्ने सल्लाह हुने गर्छ । रोधी घर गुरुङ समुदायमा कम्युनको रुपमा अभ्यास हुने र व्यवहारिक पाठशालाको रुपमा लिइने मादी गाउँपालिकाका श्याम गुरुङलाई उदृढ गर्दै सौगात पोखरेलले रातोपाटीमा एक लेख प्रकाशित गरेका छन् । रोधीमा घाटु लगायतका नाच, दोहोरी गीत प्रस्तुत गरी मनोरञ्जन गर्ने गरिन्छ ।
पछिल्लो पटक सरोज पन्तले घान्द्रुकका गुरुङ समुदायमा रोधी प्रथाको अवस्था बारे अध्ययन गरेका छन् । रोधी प्रथा गुरुङ समुदायबाट कसरी र किन लोप भैरहेको छ भन्ने बारे अध्ययन गरेका छन् । हिन्दुकरण, वर्तमान आधुनिक शिक्षा, मनोरञ्जनका अन्य साधनहरुको पर्याप्तता तथा बसाईसराईलाई रोधी लोप हुनुको मुख्य कारण मानेका छन् ।

यसरी गण्डकीको मगर समुदायले बुझ्ने रोदी टहरो हो जो पानीको प्याससँगै पधेँरामा जन्मियो । पछि मगर गाउँमा हुर्कियो अनि विभिन्न ठाउँमा विस्तार हुँदै गयो । यस्तै गुरुङले बुझ्ने रोधी भनेको घर हो जहाँ सुत्ने वा बुन्ने गरिन्छ । मगर र गुरुङका रोदीको प्रकृयागत भिन्नता भएपनि दुवै समुदायको समाजशास्त्रीय प्रकार्य उस्तै छ । दुवै समुदायका रोदी अथवा रोधीमा युवायुवतीको भेट हुने र नाचगान गरी रमाइलो गर्ने, सामाजिक अन्तरकृया गर्ने, शीप सिक्ने, मर्यादा सिक्ने र सामुहिक श्रम अभ्यासको योजना बन्ने गर्दछ । अवधारणात्मक हिसाबले रोदी र रोधी एकै खाले आदिवासी प्रथाजनित संस्था हो भन्न सकिन्छ ।

रोदी वा रोधी कसको ?
रोदी सबैको साझा हो । गुरुङले मात्र होइन मगरले पनि यसलाई प्रथाजनित संस्थाको रुपमा अभ्यास गरेको माथिका तथ्यहरुबाट देखिन्छ । रोदीमा कौरा, घाटु, सोरथी, झाम्रे लगायतका मौसमी र बाह्रमासे नाच नचाउने चलन गुरुङ मगर दुवै समुदायमा पाइन्छ । विभिन्न भाकामा केटाकेटी बीच दोहोरी गीत गाउने चलन दुवैमा पाइएको छ ।

आज गण्डकी क्षेत्रको मगर गुरुङका धेरै संस्कृतिहरु साझा छन् । संस्कृति अंशवण्डा गरेर गर्न सकिने चिज होइन । घलेक, चोली, पटुकी र गुनियो दुवै समुदायको हो । खानकी दुवै समुदायमा उस्तै छ । घरको प्राचीन आर्किटेक्ट उस्तै उस्तै छ । डा. मिन श्रीसका अनुसार गण्डकी क्षेत्रका मगर र गुरुङका धेरै कुरा मिल्छन् । फरक भनेको भाषा र केही संस्कार मात्र हो ।

यस्तै मगरको म्यात्रील्याटरल क्रसकजिन म्यारिज हो भने गुरुङको बाइल्याटरल क्रसकजिन म्यारिज हो । यसले मगरको रोदीमा मामा भान्जीको ठट्यौली साइनो निर्माण गर्दछ भने गुरुङको रोधीमा सोल्टी सोल्टिनाको । गुरुङको संस्कृतिमा तिब्बती प्रभाव र मगरको संस्कृतिमा हिन्दु संस्कृतिको प्रभाव देखिएपनि यी दुवै समुदायको मिलन विन्दु भने गण्डकी क्षेत्रमा विकास भएको सभ्यता र संस्कृति हो ।

रोदीलाई गुरुङ र मगरले आ आफ्नै दृष्टिकोणमा हेरेको भएपनि दुवैले यसलाई सामाजिकीकरण हुने प्रथाजनित संस्थाको रुपमा अभ्यास गरेको पाइन्छ । यो एकै स्थानबाट उत्पत्र् िभएर अन्यत्र विस्तार भएको पनि हुनसक्छ वा भिन्न भिन्न स्थानमा भिन्न परिस्थितिमा उत्पत्ति भएको पनि हुन सक्छ । जे भएपनि संस्कृति पहिचान हो अंशवण्डा गर्नुपर्ने जिनश होइन । संस्कृति सबैका साझा हुन् ।

अन्तमा,
मगर र गुरुङ गाउँको रोदीको काखबाट जन्मिएको दोहोरी साँझ आज काठमाण्डौ, पोखरा, बुटवल, नेपालगञ्ज लगायतका ठूला सहरमा रात्री क्लबको रुपमा संचालन भएका छन् । नेपाली सहरमा मनोरञ्जनको नयाँ विधा स्थापित भएको छ । मनोरञ्जन बजारमा दोहोरीले विशेष स्थान बनाएको छ । धेरैले व्यवसायी संचालन गरिरहेका छन् । हजारौँ नेपालीले रोजगारको अवसर पाएका छन् । अर्थशास्त्रको दृष्टिले मुलुकको लागि यो राम्रै कुरो हो ।

तथापि पहिचानको दृष्टिले हेर्ने हो भने रोदी साँझको नाममा व्यवसायी संचालन हुँदा गुरुङ र मगरको पहिचान लिलाम भएको छ । आज घलेकी, चोली र गुन्यो पहिरिएकी चेलीलाई गुरुङ मगर होइन दोहोरी साँझको कर्मचारी भन्ने बुझाई निर्माण हुँदैछ । प्रथाजनित संस्था रोदी आज दोहोरी गीत, नाच र बार रेष्टुरेण्टको रुपमा परिणत भएको छ । मगर गुरुङको सौन्दर्यशास्त्र आज नाइट क्लबमा बन्धक हुन पुगेको छ । घलेकी र छिटको गुन्यो वेटरको एप्रोन हुन पुगेको छ । मगर गुरुङको प्रथाजनित संस्थाको ब्राण्ड मनोरञ्जन बजारमा विक्री भइरहँदा मगर गुरुङ समुदाय भने घरज्वाइँको बोर्डमा अंशवण्डाको लुडो खेल्न थालेका छन् । गण्डकी क्षेत्रमा मगर गुरुङ समुदायबाट हुर्किएको दोहोरी साँझ आज सहरमा वितरा परेको छ । बरु यसको सही व्यवस्थापन र नियमनमा लाग्नु पर्ने समय हो ।

मगर र गुरुङका गाउँमा सांकेतिक रुपमा बाहेक आम सांस्कृतिक जीवनको पाटोबाट रोदी सधैका लागि लोप भैसकेको छ । सहर छिरेको रोदीलाई घरज्वाइँको सोरो जस्तै सजिलै गाउँ फर्काउन सकिँदैन । बरु गाउँबाट सहर पुगेको रोदीलाई राज्यको नियमले बाँधेर व्यवस्थित बनाउन पहल गर्न सकिन्छ । जसरी स्थानीय कानूनबाट थारु समुदायको बडघर विभिन्न स्थानीय सरकारले संस्थागत गर्दैछ त्यसरी रोदीलाई कानूनबाट संस्थागत गर्न सकिन्छ । पेटेन्ट लिएर ब्राण्डलाई मनिटाइज गर्न सकिन्छ । सरकारी संयन्त्र मार्फत् रोयल्टी संकलन गरी सामुदायको हित र विकासमा उपयोग गर्न सकिन्छ ।

रोदी गुरुङ र मगर दुवै समुदायको हो । परापूर्वकालदेखि गण्डकीका गुरुङ मगरलाई यसैले जोडेको थियो । संस्कृति अंशवण्डा गर्ने विषय होइन । संस्कृतिले मानिसहरुलाई तोड्दैन बरु जोड्छ । नेपालको संविधानको प्रस्तावना अनुरुप विविधताबीचको एकतालाई मजबुद बनाउन अब राज्य मात्र होइन सम्बद्ध समुदाय नै अग्रसर हुनुपर्छ । रोदी सम्बन्धी मतभेद सुल्झाउन आदिवासी जनजाति आयोग, आदिवासी जनजाति महासंघ र मगर गुरुङ समुदाय सम्बद्ध संस्थाहरु समजदारीपूर्वक अघि बढ्न उपयुक्त हुन्छ ।