साउन १३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट ‘निष्कासित’ भनिएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको भनिएको निर्णय वैधानिक नभएको दाबी गर्दै उनले आइतबार आयोगमा निवेदन दिएका हुन् । पदीय भूमिकाबाट मुक्त गरेको औपचारिक पत्र हालसम्म नपाएको उनले दिएको निवेदनमा उल्लेख छ ।
राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६० (४), राजनीतिक दल सम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको उनको निवेदनमा उल्लेख छ ।
पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय लिएको थियो । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको दाबी ढकालले निवेदनमा गरेका छन् ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ को उपदफा २ बमोजिम आफूलाई सफाइ पेस गर्ने मौका समेत नदिइएकोले कारबाही अवैधानिक ठहर्ने निवेदनमा उल्लेख छ ।