काठमाडौं । धनगढीको नोभा हस्पिटलमा तनाव सिर्जना भएको छ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त र प्रहरीबीच झडप भएको छ । उपचारका क्रममा कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको मृत्यु भएको थियो । ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो ।
अस्पतालको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै विरामीका आफन्तले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीसँग झडप भएको हो । ‘विरामीका आफन्तले ढुंगामुढा गर्न थालेपछि झडप भएको हो । अवस्थालाई सामान्य बनाउन केही सेल अश्रुग्यास पनि प्रहार भएको छ,’ घटनास्थलमा रहेका प्रहरी निरीक्षक गंगादत्त बढूले भने, ‘अहिले अस्पताल प्रशासन र मृततकका आफन्तबीच वार्ता भइरहेको छ ।’ अहिले अवस्था सामान्य रहेको उनले बताए ।