• मंसिर ७ २०८१, शुक्रबार

नेपालको हवाइ सुरक्षामा गम्भीर प्रश्नः सौर्य एयरलाइन्सको दुर्घटना हुनुमा दोष कसको ?

श्रावण ११ २०८१, शुक्रबार

काठमाडौं । पछिल्लो समय भएको विमान दुर्घटनाले नेपालको हवाइ सुरक्षा बारे प्रश्न उठाइदिएको छ । एकपछि अर्को दुर्घटना हुनुमा प्राविधिक पक्ष कि मानवीय कमजोरी भन्ने विषयमा पटक- पटक बहस हुने गरे पनि हवाइ सुरक्षाको विषयमा नेपालले गम्भीर रुपमा चासो लिएको पाइदैन ।

सामान्य अवस्थामा रहेको भनिएको सौर्य एयरलाइन्सको एउटा विमान बुधबार काठमाडौंबाट उड्ने वित्तिकै त्रिभुवन विमानस्थलमा दुर्घटना हुन पुग्यो । नियमित प्राविधिक परीक्षणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एअरलाइन्सको विमान दुर्घटनामा परेको थियो । आफ्नै विमानको प्राविधिक लिएर उडेको विमान पक्कै पनि विमान सामान्य अवस्थामा भएकैले र सुरक्षित भएकैले सबै उडेका थिए । तर, विमानस्थल छोड्ने वित्तिकै विमान अनियन्त्रित भइ दुर्घटनामा पर्नुले भने हवाइ सुरक्षाको विषमा अन्तराष्टिय जगतले गम्भीर चासोको रुपमा हेरेको पाइन्छ । विश्वमा सबै भन्दा सुरक्षित यात्रा भनेर हवाइ जहाजको यात्रालाई भनेर चिनिन्छ तर नेपालमा पछिल्लो पाँच वर्षमा भएका विमान दुर्घटनाको श्रृङ्खलाले भने सोच्न बाध्य बनाइदिएको छ । उसै पनि नेपाललाई इयूले कालोसूचीमा राखेको छ त्यसमा पनि वर्षेनी भइरहेने विमान दुर्घटनाले थप स‌शय उत्पन्न गरेको देखिन्छ ।

सौर्य एयरलाइन्सको विमानको विषयमा धेरैले विमान कम्पनी र नियामक कम्पनीको लापरबाहीले दुर्घटना हुन पुगेको भनेर भनिरहेका छन् । अर्को तर्फ ‘सी-चेक’ भनिने नियमित रूपमा गरिने विस्तृत परीक्षण गर्न जान उडेको भनिएको सो विमानले नियम पालन नगरेको भनेर विज्ञहरुले पनि भनिरहेका छन् । खासमा सी-चेक भनेको के हो त ? जहाजको सम्पूर्ण परीक्षण तथा मर्मतसम्भारलाई एयरक्राफ्ट भाषामा सी–चेक भनिन्छ । प्राविधिकका भनाई अनुसार सामान्यतया विमानले ५ हजार घण्टा उडान भरेपछि सी-चेक गर्ने गरिन्छ ।

जहाज परीक्षणका विभिन्न चरण हुन्छन् । जस अन्तर्गत ‘ए’, ‘बी’ र ‘सी’ भन्दै वर्गीकरण गरिएको हुन्छ ।  वर्गीकरण अनुसार ‘सी’ चरणको चेकअप नै सी–चेक हो । पूर्ण परीक्षण र मर्मत मानिने सी–चेकमा जहाजको बाहिरी भाग, तरल पदार्थहरूको स्तर, टायर, ब्रेक, इन्धन, जहाजका विभिन्न आन्तरिक प्रणाली, उडान नियन्त्रण, इन्जिन, ल्यान्डिङ गियर, जहाजको संरचनात्मक उपकरण र विद्युतीय प्रणालीसमेतको परीक्षण र बिग्रिएको पाइएमा मर्मत गरिन्छ । यस्तो परीक्षणका लागि बढीमा चार सातासम्म लाग्छ । यस परीक्षणमा जहाजका नटबोल्टहरू खुकुलो भए नभएको सम्मको परीक्षण गरिन्छ ।

पहिलो प्रश्नः सी-चेक गर्नका लागि पोखरा उडेको जहाजमा प्राविधक मात्रै हुनु पर्ने हो । प्राधिकरणले पनि प्राविधिकहरुलाई मात्रै उडानको अनुमति दिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन् । त्यसो भए कसरी प्राविधिक बाहेक बच्चा र अन्य व्यक्ति विमानमा चढे त भन्ने प्रश्न पनि उठेको छ । सूचना अधिकारी भूलका अनुसार विमानमा कति यात्रु छन् भनेर प्राधिकरणले प्रश्न गर्ने ठाउँ भए पनि पाइलटले सबै प्राविधिक हुन भनेपछि विमानको खोजतलास गर्ने कुरा हुँदैन ।

दोस्रो प्रश्नः के सौर्य एयरलाइन्सलाई काठमाडौंमा राखेर सी- चेक गर्न सकिदैन थियो र भन्ने प्रश्न जनआवाज पनि उठेको छ । विमानको सी‍- चेक काठमाडौंमै गर्न नसकिने होइन । तर अन्तराष्ट्रिय विमानस्थलमा जुनसुकै बेलामा पनि अन्य अन्तराष्ट्रिय विमानको अत्यावश्यक परीक्षण गर्नुपर्ने हुन सक्छ त्यस्तो अबस्थामा सौर्य एयरलाइन्सको विमान हटाउने कुरा पनि हुँदैन । अर्को विमानको सबै परीक्षण गर्न एक महिना लाग्ने भएकाले पनि पोखरा विमानस्थल रोजिएको हो । यसअघि सौर्य एयरलाएन्सले विमान परीक्षणका लागि विदेश लैजाने गरेको भए पनि स्वदेशमै कम खर्चमा हुने भएपछि विदेशी प्राविधिक मगाएर परीक्षण गर्न खोजेको हो । जहाज मर्मतसम्भारका लागि त्रिभुवन विमानस्थलमा बुद्ध एयर, नेपाल वायुसेवा निगम र आर्मीको आफ्नै ह्यांगर छन् । नियामक निकाय क्यानको ह्यांगर भने पोखरा र नेपालगन्जमा छन् । आफ्नै ह्यांगर नहुने वायुसेवा कम्पनीले त्यहीँ लगेर मर्मतसम्भार गर्छन् । त्रिभुवन विमानस्थलको बुद्ध एयरको ह्याङ्गरमा एउटा विमान करिव दुई साता देखि परीक्षणमा छ त्यसैले पनि सौर्य एयरलाइन्सले विमानस्थलले नै सञ्चालन गरेको पोखराको विमानस्थलमा सी- चेक परीक्षणमा लिएर जाँदै थियो ।

तेस्रो प्रश्नः दुर्घटनाको कारण के हो त ? प्राविधिक गढबढ नै हो त ? भन्ने प्रश्नमा विमान दुर्घटना के कसरी भयो भन्ने बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयाेजकत्वमा छानबिन आयोग गठन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जहाजको ‘ब्ल्याकबक्स’ सङ्कलन गरेर राखेको छ। अब त्यो आयोगलाई हस्तान्तरण हुन्छ र उसैले कारण पत्ता लगाउँछ । विमानका क्याप्टेन मनीषरत्न शाक्य जीवित भएका कारण अन्य धेरै कारण खुल्ने सम्भावना देखिन्छ । क्याप्टेनले एक सय फिट माथि गएपछि विमान आफ्नो नियन्त्रणमा नभएको प्रतिक्रिया दिइसकेका छन् । अब बनेको छानबिन समितिले धेरै कारण खुल्ने नै छ । सी चेक जाँचका लागि पोखरा उडेको जहाज राम्रै भएकाले पनि प्राविधिकहरु विश्वस्त भएर विमानमा चढेका हुन् । अर्को कुरा जहाजले उड्दा जुन गति लिनुपर्ने हो त्यो गतिमा उड्न नसकेर पनि दुर्घटना भएको हुन सक्ने विज्ञहरुको मत छ । यद्यपी घटनाको विषयमा विस्तृत अनुसन्धानले भने कारण देखाउने नै छ ।

नेपालमा अहिलेसम्म भएका विमान दुर्घटना

  • मे २०२३ः सङ्खुवासभाको सिप्रुङमा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना एक यात्रुको  मृत्यु
  • जुलाई २०२३ः सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटना, मेक्सिकोबाट सगरमाथा हेर्न आएका एकै परिवारका पाँच जनासहित छ जनाको मृत्यु
  • जनवरी २०२३ः काठमाडौंबाट चालकदलका चार र ६८ यात्रुसहित उडेको यती एअरलाइन्सको ATR 72 विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा सबै जनाको मृत्यु
  • मे २०२२ – पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक ट्विनअटर 9NAET विमान दुर्घटनामा पर्दा २२ जनाको मृत्यु
  • अप्रिल २०१९ – सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
  • फेब्रुअरी २०१९ – एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
  • सेप्टेम्बर २०१८ – गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
  • मार्च २०१८ – बाङ्ग्लादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
  • फेब्रुअरी २०१६ – पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
  • मे २०१५ – भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
  • जुन २०१५ – सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
  • मार्च २०१५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
  • फेब्रुअरी २०१४ – पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
  • सेप्टेम्बर २०१२ – काठमाडौंबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
  • मे २०१२ – अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
  • सेप्टेम्बर २०११ – बुद्ध एअरको एउटा विमान कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
  • डिसेम्बर २०१० – लामीडाँडाबाट काठमाडौं उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
  • अगस्ट २०१० – काठमाडौंबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
  • अक्टोबर २००८ – लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
  • सेप्टेम्बर २००६ – सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के