काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई शपथ गराएका हुन् ।
आचार्यले शपथ लिएलगत्तै नेपाली कांग्रेस र नेकपा एमालेबाट चार–चार जना मन्त्रीले प्रदेश प्रमुख शेरचनसँग शपथ लिएका छन् । आचार्यले ८ मन्त्रीलाई बिनाविभागीय मन्त्रीको शपथ गराउँदै ९ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । लुम्बिनीमा भुमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी मन्त्री बनेका छन् ।
त्यस्तै धनेन्द्र कार्की, सरोज थापा (रोज राणा) पनि मन्त्री बनेका छन् । प्रचण्डविक्रम न्यौपाने, खेमबहादुर सारु र सीता शर्माले पनि मन्त्री पदको शपथ लिएका छन् । अहिले मुख्यमन्त्री आचार्यले सबै मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन् भने मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी पाइसकेका छैनन् ।
कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी तथा नेकपा एमालेबाट रुपन्देहीका भुमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम बहादुर सारु र दाङकी शिता शर्माले बिनाविभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन् ।
कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा सरकारमा जाने भनिए पनि अन्तिम समयमा तिमिल्सिनाको नाम काटिएको हो । उनलाई केही दिनमा मन्त्री बनाउने कांग्रेस स्रोतले बतायो । १२ मन्त्रालय रहेको लुम्बिनीमा बाँकी मन्त्रालय साना दललाई दिने दुई दलबीच सहमति भएको छ ।
आचार्य सोमबार एमालेका २९ र कांग्रेसका २७ जनाको गरी ५६ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख शेरचनले सोमबार नै आचार्यलाई मन्त्री नियुक्त गरेका थिए ।