• मंसिर ११ २०८१, मंगलवार

साउनमा माछामासु किन खानु हुँदैन ?

श्रावण ९ २०८१, बुधबार

साउनलाई भगवान् शिवको प्रिय महिनाका रूपमा लिने गरिन्छ   ।  यो साउने संक्रान्ति, बोलबम र भगवान् शिवको आराधना साथै उपवासको महिना हो ।

पूर्वीय दर्शनअनुसार साउन महिनामा भगवान् शिवको आराधना गर्ने, उपवास बस्ने, शिवलिङ्गमा जल अर्पण गर्ने गरिन्छ । महिना सनातन धर्मावलम्बीहरूले विशेष पूजाआरधाना गर्ने गर्छन् ।

धार्मिक मान्यताअनुसार, साउन महिनामा मदिरा र मासुको त्याग गरेर शुद्ध शाकाहारी खाना सेवन गर्ने गरिन्छ । यसको सेवनले मानिसको भविष्यमा नराम्रो असर पार्छ । धर्म मात्र होइन, विज्ञानले पनि साउनमा तामसिक पदार्थ अर्थात मदिरा, मासु, तेल, मसला आदिको प्रयोग कम गर्नुपर्ने मान्यता राखेको छ ।

साउनमा धेरैले माछामासु खाँदैनन् । कतिले सोमबार अन्न समेत खाँदैनन् । यसको आफ्नै धार्मिक तर्क छ ।

आयुर्वेदका अनुसार साउनमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । मदिरा, मासु, तेल र मसालेदार खानेकुराको सेवनले हाम्रो पाचन प्रणालीलाई तनाव दिन्छ किनभने यी पचाउन गाह्रो हुन्छ । कमजोर पाचन शक्तिका कारण मांसाहारी खाना आन्द्रामा सड्न थाल्छ । यसले इम्युनिटीमा पनि नराम्रो असर गर्छ । एक हिसाबले नन-भेज र मसालेदार खानाले रोग निम्त्याउन सक्छ ।

मासुमंसमा जीवाणु फैलने, कुहिने, सड्ने हुन्छ । त्यहीकारण यसबेला मासु त्यति हितकर मानिँदैन । वर्षायाम भनेको धेरैजसो पानीमा पाइने जीवहरूको प्रजननको महिना हो ।

साउन पशुको स्वास्थ्यका लागि पनि राम्रो हुँदैन । जनावरहरूले खाने घाँस र झारसँगै तिनीहरूले अन्जानमा धेरै विषालु कीराहरू निल्छन् । जसका कारण पशुपंक्षी बिरामी पर्छन् । उनीहरूको शरीरमा संक्रमण फैलिन्छ । यस्ता जनावरको मासु मानव शरीरका लागि निकै हानिकारक साबित हुन्छ ।