काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन दोस्रो कार्यकालका लागि चुनावी दौडबाट अचानक पछि हटेका छन् । बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने बताएका हुन् । उनले राष्ट्रपति चुनावको उम्मेदवारमा आफ्नै पार्टीका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन् ।
बाइडेनले अमेरिकी नागरिकलाई सम्बोधन गर्दै एक्समार्फत जारी गरेको विज्ञप्तिमा आगामी नोभेम्बरमा हुने निर्वाचनको दौडबाट आफू पछि हटेको उल्लेख गरेका छन् । ‘राष्ट्रपतिका रूपमा तपाईंहरूको सेवा गर्न पाउनु मेरा लागि सबैभन्दा ठूलो सम्मान हो । मेरो पुनर्निर्वाचित हुने चाहना हुँदाहुँदै पनि म चुनावी प्रतिस्पर्धाबाट पछि हटेर बाँकी कार्यकालको जिम्मेवारी केन्द्रित हुनु पार्टी र देशको हितमा हुने मलाई विश्वास छ,’ बाइडेनले भनेका छन् ।
साथै उनले आफ्नो साढे तीन वर्षको कार्यकालमा मुलुकले उल्लेख्य प्रगति गरेको दाबीसमेत गरेका छन् । त्यस्तै बाइडेनले कोभिड महामारी र त्यसका कारण सिर्जित आर्थिक संकटबाट मुलुकलाई बाहिर ल्याएको र लोकतन्त्रको रक्षा गरेको समेत उल्लेख गरेका छन् ।