काठमाडौं । हुथी विद्रोहीहरूले आक्रमण गरेको एक दिनपछि इजरायलले यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेको बन्दरगाह हुदैदाहमा जवाफी आक्रमण गरेको छ । बन्दरगाह रेड सीमा पर्छ ।
यस आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका बताइएको छ । हुथी अधिकारी मोहम्मद अब्दुल सलामले यसलाई यमनविरुद्ध इजरायलको बर्बर आक्रमण भनेका छन् ।
उता, इजरायलका रक्षामनत्री योआभ ग्यालेन्टले आफ्नो देशले यस आक्रमणमार्फत हुथी आन्दोलनलाई एक सन्देश दिन चाहेको बताएका छन् । पछिल्लो आक्रमण हुथी विद्रोहीमाथि दबाब राख्नका लागि गरिएको उनको भनाइ छ । गाजामा प्यालेस्टाइनीलाई गरिरहेको समर्थनबाट हुथी विद्रोहीहरू पछि हटून् भनने इजरायल चाहन्छ ।
इजरायलले पहिलोपल्ट हुथी विद्रोहीमाथि सिधा आक्रमण गरेको हो । केही महिनायता आफूमाथि हुथी विद्रोहीहरूले सयौं मिसाइल बर्साएको इजरायलको दाबी छ । शनिबार साँझ इजरायली आक्रमणपछि आइरहेको फुटेजमा हुदैदादमा आगोको ज्वाला देखिन्छ ।