• मंसिर ११ २०८१, मंगलवार

आज गुरू पूर्णिमा,जीवनमा उज्यालो फैल्याउने गुरुप्रति सम्मान व्यक्त

श्रावण ६ २०८१, आईतवार

आज असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा पर्व रहेको छ । गुरू पूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो ।

हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्। यस दिन गुरुलाई सम्मान गरी उपहार समेत दिने गरिन्छ । कतैकतै त गुरु दक्षिणा पनि दिने चलन छ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ। यसैले भनिएको छ –

गुरु ब्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वरस् ।गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ।यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।

आजको दिन शिष्यहरूले आफूलाई शिक्षा प्रदान गर्ने गुरुहरूप्रति श्रद्धाभाव प्रकट गर्ने तथा विभिन्न मिष्ठान्न परिकारहरू खुवाएर यो पर्व मनाउने परम्परा रहीआएको छ ।