दन्त चिकित्सकका अनुसार दाँत सफा राख्न हरेक दिन दुई पटक ब्रस गर्नुपर्छ । यसले दाँतलाई ब्याक्टेरियाबाट जोगाउन र मुखको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ।
प्रायः हामी दाँत माझेपछि ब्रसलाई बाथरुम तथा ट्वाइलेट रुममा राखिदिन्छौँ । तर यस्तो गर्नु मुखको स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । खासगरी बाथरुम र शौचालय एकै ठाउँमा छ भने ब्रस त्यहाँ राख्नै हुन्न ।
ब्रस शौचालय वा बाथरुममा राख्न नहुने दन्त चिकित्सकहरू बताउँछन् । शौचालयमा फेकल ब्याक्टेरिया (दिशामा पाइने ब्याक्टेरिया) धेरै हुन्छन । यो हावाबाट ब्रसमा जम्मा हुन थाल्छ । बाथरुम ओसिलो हुन्छ । ओसका कारण ब्रसमा ढुसी पर्ने खतरा हुन्छ ।
शौचालय जोडिएको बाथरुममै राखियो भने पनि फेकल ब्याक्टेरिया ब्रसको माध्यम हुँदै मुखबाट रगतमा पुग्न सक्छ । यसबाट मुखको स्वास्थ्य त बिग्रन्छ नै समग्र स्वास्थ्यमा समेत नराम्रो असर पर्न सक्छ । अन्य कयौँ प्रकारका सङ्क्रमणले सताउन सक्छ । ब्रस स्ट्यान्ड पनि कहिल्यै शौचालय सिटको नजिक राख्नु हुँदैन ।
शौचालय वा बाथरुममै राख्नु पर्यो भने पनि ब्रसलाई सधैँ छोपेर राख्ने गर्नुपर्छ । यसरी ब्रसलाई राम्ररी धोएर छोपेर राख्दा ब्याक्टेरियाबाट धेरै हदसम्म ब्रसलाई जोगाउन मद्दत मिल्छ र प्रयोग गर्नु अघि पानीले राम्ररी धुनु पर्छ ।