• मंसिर ७ २०८१, शुक्रबार

सिमलताल दुर्घटनाः कसरी गयो गेग्रानसहितको ठूलो पहिरो ?

श्रावण ४ २०८१, शुक्रबार

काठमाडौं । गत असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल पहिरोसँगै खसेको दुई बस र यात्रुहरु अझै वेपत्ता छन् । हराइरहेका मध्ये २२ जनाको शव भेटिएपनि अझै ४१ जना भेटिएका छैनन् । भेटिएका मध्ये पनि दुर्घटना भएको ठाउँबाट ३० देखि ४० किलोमिटर टाढाको दुरीमा फेला परे।

काठमाडौंदेखि रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बसमा २७ जना र वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बसमा ३८ जना सवार थिए । काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार नन्दन दास, जोगेश्वर राय यादव र सुरज गुप्ता त्रिशूलीमा पौडिएर जोगिएका थिए ।

घटना भएको एक हप्ता वित्यो जिल्ला प्रशासन कार्यालय चितवन, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी संयुक्त मिलेर खोजी कार्य भइरहेका छन् । खोजीमा गोताखोरदेखि उच्च प्रविधिको ’सोनार’ प्रयोग भइरहेको छ । तर,पनि हराइरहेका दुई बस भेट्न सकेको छैन ।

दुई बस हराएको यति लामो समय हुँदा पनि राज्यले कसरी यो दुर्घटना भयो भन्ने बारे बृहत अनुसन्धान गर्न सकिरहेको छैन । यद्यपी नयाँ सरकार गठन भएसँगै गृहमन्त्री रमेश लेखकले मन्त्रालयका सहसचिव छविलाल रिजालको नेतृत्वमा गठित पाँच सदस्यीय कार्यदल साउन २ मा चितवनको सिमलताल पुगेको छ । अध्ययन कार्यदलले हराइरहेका बसबाट पौडी खेलेर बाँच्न सफल भएकाहरुसँग जानकारी लिएको छ । जसले अध्ययनमा सहयोग पुग्ने अपेक्षा लिएको छ । तर, पहिरो कसरी गयो भन्ने बारे राज्यले ध्यान दिन सकिरहेको देखिदैन ।

सिमलताल पहिरोलाई विज्ञ र सरोकारवालाहरुले जलवायु परिवर्तनसँग जोडेर पनि हेरेका छन् । भारी वर्षा र त्यसले उत्पन्न परिस्थितीलाई जोडेर विज्ञहरुले जलवायु परिवर्तनसँग सिमलताल पहिरोलाई जोडेका छन् । यता अध्ययन कार्यदलले बाँच्न सफल यात्रुसँग मात्रै नभई पहिरोको उद्गम ठाउँसम्म पुगेर अनुगमन गरिरहेको छ । सिमलताल दुर्घटनाको विषयमा अनुगुमन गरेका संयोजक छविलाल रिजाल पहिरो गएको ठाउँमा खोल्सा रहेको र चेक ड्याम पनि रहेको र ति पुरानो भइसकेको बताउँछन् । पहिरो गएको ठाउँबाट ढुङ्गा माटो र लेदो, गेग्रानले बस बगाएको देखिन्छ, रिजाल भन्छन, तर, अहिले नै यहि हो भन्न सक्ने अबस्था छैन । स्थानीयको भनाई अनुसार पहिरो गएको दिन दिउँसो पनि हल्का ढुङ्गा माटो खसेको थियो ।

यता सडक विभागले पनि पहिरोको अध्ययन गरिरहेको छ । बाटो खन्दा पु¥याउनु पर्ने ध्यान नदिएको पनि देखिएको अध्ययन कार्यदलले देखाएको छ । यता भूगर्भविद्को भनाई भने त्यहाँको अबस्थाको जानकारी नलिई जथाभावी बाटो खन्दाको परिणाम पहिरो गएका बताउँछन् । भूगर्भविद् दिलेश्वर शर्मा सो ठाउँमा गेग्रानसँगै पहिरो जानुमा जथाभावी सडक खन्नु पहिलो कारण भएको बताउँछन् ।

राजमार्ग माथि सडक खन्दा त्यो भूगोल र माटोको अबस्था जाँच नगरी बाटो खन्ने र नयाँ माटो एकै ठाउँमा थुपार्दा सो ठाउँमा पानी पर्दा विस्तारै गेग्रान बग्ने क्रम शुरु हुन्छ, शर्माले भने, कमजोर भूभागबाट एकै पटक पानीसँगै एकीकृत भएको गेग्रान र लेदो बग्दा तलसम्म आउँदा त्यसले ठूलो रुप लिने गर्दछ ।’ हामीले त्यहाँ सडक खन्दा वातावरणीय अबस्था बुझेनौ, विकास निर्माणका नाममा जथाभावी सडक खन्दा खुल्ला माटो यत्तिकै छोडिदियौ जसले माथिबाट वर्षा हुदाँ विस्तारै पहिरो जाने क्रम बढ्दै जादाँ त्यसले भयावह अबस्था लिएको जस्तो देखिन्छ, शर्माले भने, चितवनको त्यो भूगोलको अबस्था र पहिरो गएको ठाउँ हेर्दा पनि त्यस्तै देखिन्छ ।’ सडकको भद्रगोल अबस्था एकातिर ढुङ्गा मोटो खन्ने, अर्को तिर थुपारेर राख्ने जुन गलत प्रवृत्ति छ त्यसले देशको धेरै सडक खनेको ठाउँमा पहिरो गएको देखिन्छ, शर्माले भने ।

साथै स्थानीय तहलाई नयाँ सडक निर्माण गर्दा भौगोलिक अबस्था, ईआइए गरेर मात्रै सडक खन्न दिनुपर्ने मत विज्ञहरुको छ । बाटो खन्ने र त्यसै छोड्ने प्रवृत्तिलाई अब निरुत्साहित गर्नु जरुरी रहेको विज्ञको भनाई छ । जलाधारविद् रञ्जनविक्रम प्रधान सिमलतालको पहिरोको अबस्था र मेलम्चीको पहिरोको अबस्था उस्तै प्रकृतिको देखिने बताउँछन् । मेलम्चीमा आएको पहिरो माथि खोल्सामा गेग्रान थुप्रिएर एकै पटक बगेर आएको थियो । जसले सिन्धुपाल्चोकको मेलम्चीमा दुई वर्षअघि ठूलो धनजनको क्षति हुन पुग्यो । ’ठ्याक्कै अहिले सिमलतालमा गएको पहिरो पनि त्यस्तै देखिन्छ, प्रधानले भने, नयाँ बाटो खनेपछि नयाँ गेग्रान माटोको व्यवस्थापन गर्न सकेको भए लेदोसहितको ठूलो पहिरो बग्ने थिएन ।‘

सिमलताल पहिरोको अर्को कारण खोल्साको भल व्यवस्थापन गर्न नसक्नु पनि हो । सडक खनेपछि माथिबाट आएको भललाई सहि रुपमा व्यवस्थापन गर्न नसक्दा पानी एकै ठाउँमा जमेर गेग्रानसहितको पहिरो गएको देखिन्छ । ड्रोनबाट लिइएको तस्बीर हेर्दा स्थानीय तहले नयाँ सडक खनेर यत्तिकै छाडेको देखिन्छ । सो सडक केही समय अघि मात्रै खन्नु र माथिबाट आएको पानीको निकास जाने ठाउँ नहुँदा लेदोसहितको पहिरो बग्न पुग्यो । भारी वर्षासँगै एकीकृत भएर माथिबाट गेग्रान सहितको लेदो माटो बग्दा त्यसको बेग उच्च हुन्छ । माथिबाट विस्तारै बगेको पहिरोको बेग तल आइपुग्दा उच्च बेगमा बग्ने गर्दछ ।

साथै भारी वर्षाका कारण पनि सिमलताल पहिरो जानुको अर्को कारण हो । मनसुन सुरु भएपछि देशको विभिन्न भेगमा ठूलो वर्षा भयो । केही ठाउँमा भारी वर्षा भयो भने कतै छिटपुट वर्षा पनि भयो । जलवायु परिवर्तनका कारण गत असार २३ गतेदेखि देशको अधिकांश भेगमा वर्षा भयो । २४ असारमा सबैभन्दा धेरै वर्षा कञ्चनपुरको दोधारामा ६ सय ७५ मिलिमिटर वर्षा २४ घण्टाको बिचमा भयो । जुन अति भारी वर्षा भएको मौसम विभागले भनेको छ । २४ देखि २७ गतेसम्म भएको मनुसुनी वर्षा कतै अत्याधिक त कतै मध्यम वर्षा भयो । असार २६ र २७ गते भने चितवनको सिमलताल क्षेत्रमा पनि ठूलो वर्षा भएको स्थानीयको भनाई छ । भारी वर्षाका कारण पनि सिलतालमा ठूलो पहिरो जान सहयोग पुगेको देखिन्छ । पहिरो बग्नु एक दिनअघि पनि सो क्षेत्रमा ढुङ्गा माटोसहितको लेदो बगेको स्थानीयको भनाई छ । डोजरले पन्छाएर २७ गते बाटो खुलाएपछि गाडी सञ्चालन आएको थियो । ढुङ्गा लेदो सहितको हल्का पहिरोलाई सामान्य रुपमा लिएर गाडी सञ्चालन गर्न दिइएको थियो ।

सडक माथि थुप्रिएको गेग्रान कसले हेर्ने छैन कुनै स्पष्ट मापदण्ड

चितवन नारायणगढ–मुग्लिन सडक निर्माणपछि गेग्रान व्यवस्थापनका लािग २०६८ सालमा जल उत्पन्न प्रकोप विभागले काम गर्दै आइरहेको थियो । सडक छेउमा थुप्रिएको गेग्रान र सडक माथि थुप्रने ढुङ्गा माटो सफा गर्ने र व्यवस्थापन गर्दै आइरहेको थियो ।

२०७५ सालमा विभाग खारेजी भएसँगै अहिले चितवनको नारायणगढ–मुग्लिन सडक हेर्ने जिम्मा सरकार कि स्थानीय तहको भन्ने स्पष्ट व्यवस्था नहुदाँ बाटो माथि थुप्रिएको गेग्रानको व्यवस्थापनमा समस्या देखिदै आएको छ । गेग्रानको समस्या हल नहुँदा अहिले पानी परेपछि ढुङ्गा माटोसहितको गेग्रान थुप्रने समस्या रहदै आएको छ । स्थानीय तहले सरकारको मुख ताक्ने र सरकारले स्थानीय तहले हेर्ने त हो नि भनेर छाड्दा समस्या आइरहेको छ । यद्यपी सडक विभागले पहिरोग्रस्त क्षेत्र खुलाउँदै आएको छ ।