• भाद्र १५ २०८१, शनिबार

सुदुरपश्चिममा पहिरोले पाँच परिवार विस्थापित

श्रावण ३ २०८१, बिहीबार

साउन ३ बाजुरा, जिल्लाको भिरालो जमिन भासिँदै पहिरो बग्न थालेपछि अधिकांश बस्ती जोखिममा परेका छन् । वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन् । दश घर अझै जोखिममा छन् । गौमुल–२ का वडाध्यक्ष देवबहादुर रोकायाका अनुसार गाउँमाथि र तलबाट पहिरो बग्न थालेपछि पाँच परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

उनीहरुलाई सहयोग उपलब्ध गराउन गाउँपालिकाले पहल गरिरहेको छ । पहिरोले रनेडाका स्थानीय सालिभान रोकाया, महेन्द्र रोकाया, साउने रोकाया, सगुने रोकाया र देबे सार्कीको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिं कार्कीले जानकारी दिनुभयो ।
विस्थापित परिवार सुरक्षित स्थानमा त्रिपाल टाँगेर बसेका छन् । सोही बस्तीको तल र माथिबाट आएको पहिरोले १० परिवार जोखिममा छन् । उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न समन्वय भइरहेको गौमुल गाउँपालिकाले जनाएको छ ।