• भाद्र १३ २०८१, बिहीबार

रुसमा क्रिप्टोकरेन्सी व्यवसायलाई कडाई गरिँदै

श्रावण २ २०८१, बुधबार

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रुसमा क्रिप्टोकरेन्सी व्यवसायका बारेमा चेतावनी दिँदै यसले मुलुकको धेरै विद्युत् आपूर्ति समाप्त गरेको र क्षेत्रीय ऊर्जा अभाव निम्त्याउने जोखिममा पारेको बताएका छन् ।
रुस विश्वको क्रिप्टोकरेन्सी व्यवसायको शीर्ष स्थानमध्येको एक हो ।

यसमा ह्याङ्गर वा गोदामहरूमा राखिएका हजारौँ कम्प्युटरका अपरेटरहरूले नयाँ क्रिप्टोकरेन्सीको बदलामा लेनदेनहरू मान्य गर्छन् ।
यद्यपि क्रेमलिनलाई यो अनियमित उद्योगलाई लिएर आशङ्का छ र नियन्त्रणलाई कडा बनाउन कानूनले संसद्मार्फत् काम गरिरहेको छ ।

‘मुलुकमा कूल विद्युत् खपतको करिब एक दशमलव पाँच प्रतिशत क्रिप्टोकरेन्सी व्यवसायद्वारा प्रयोग भइरहेको छ’, सरकारी अधिकारीहरूसँग टेलिभिजनमा भएको बैठकमा पुटिनले बुधबार भने, ‘र यो आँकडा लगातार बढिरहेको छ ।’ उनले भने, ‘हामीले यहाँ ध्यान दिनुपर्ने र चिन्ताजनक कुरा के हो भने क्रिप्टोकरेन्सी व्यवसायका लागि विद्युत् खपतमा अनियन्त्रित वृद्धिबाट केही क्षेत्रमा ऊर्जा घाटा निम्त्याउन सक्छ ।’

उनका अनुसार तीव्र क्रिप्टोकरेन्सी व्यवसायका कारण तीन साइबेरियाली क्षेत्रमा यसअघि नै विद्युत् अभाव भइसकेको छ ।

‘वास्तवमा यो मुद्दा गम्भीर छ र यसको परिणाम गम्भीर हुनसक्छ’, उनले भने । उनले रुसले यो समस्याको समाधान कसरी गर्नुपर्छ वा यो व्यवसायको गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो भन्ने बारेमा केही बताएनन् तर ‘समयमै निणर्य’ लिनुपर्ने बताए ।

रुसी सांसदहरूले आगामी साता मुलुकमा क्रिप्टोकरेन्सीलाई नियमित गर्न प्रमुख विधेयकमाथि छलफल गर्नेछन् । विधेयक मस्यौदामा स्वीकृत कम्पनीहरूमा ठूलो मात्रामा व्यवसाय सीमित गर्ने र ऊर्जा आपूर्तिमा दबाब आए सरकारलाई केही क्षेत्रमा यस व्यवसयामाथि प्रतिबन्ध लगाउन अनुमति दिनेछ ।

सस्तो बिजुली र चिसो मौसमका साथ रुसको साइबेरिया क्षेत्र लामो समयदेखि क्रिप्टोकरेन्सी व्यवसायको केन्द्र बनेको छ । यद्यपि मस्को यो उद्योगलाई ग्रहण गर्न अनकनाइरहेको छ । यो व्यवसायले आफैलाई केन्द्र सरकारको नियन्त्रणबाहिर रहेको बताउँछ ।