• मंसिर १२ २०८१, बुधबार

नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न मन छ : डा.शशांक कोइराला

श्रावण २ २०८१, बुधबार

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गरेका छन् । बुधवार काठमाडौँको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै कोइरालाले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताएका हुन् ।

उनले महिलाहरूमा समाजलाई र्डोयाउन सक्ने क्षमता हुने बताए । उनले महिलाहरूलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको जिकिर गरे । आफूले अहिलेसम्म ४ पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरूको साथ र सहयोगकै कारण जितेको उनको भनाई थियो । उनले महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताए ।

उनले भने, ‘४ पटक चुनाव जितेँ मैले आफ्नो क्षेत्रबाट, योगदान महिलाहरूकै थियो । महिलाहरूलाई उच्च सम्मान हामीले दिनुपर्छ । म आदरणीय शेरबहादुरजीलाई भन्छु ३३ प्रतिशत होइन, महिलाले ५० प्रतिशत पनि पाउनुपर्छ ।

तर तपाईँहरू सशक्त भूमिका निर्वाह गर्नुस् । घरमा बसेर चुलाचौका गर्ने होइन । नेतृत्व गर्न अगाडि बढ्नुस् । म चुनावमा जाँदा महिला अगाडि भयो भने ढोका खुल्छ, पुरुष भयो भने को आयो भनेर सोध्छ । ढोका खुलेपछि न कुरा गर्न सकिन्छ ।’