• मंसिर १२ २०८१, बुधबार

चितवनको सिमलताल पुग्यो, गृह मन्त्रालयले बनाएको कार्यदल

श्रावण २ २०८१, बुधबार

काठमाडौं । चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको विषयको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरू घटनास्थलमा पुगेका छन् ।

बुधबार बिहान गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको कार्यदल चितवनको सिमलताल पुगेका हुन् । उनीहरूले पहिरो खसेको स्थान, गाडी खसेको स्थान, त्रिशूली नदी किनारको अवलोकन गरेका हुन् ।

यस्ता घटना कसरी रोक्ने भन्ने विषयमा अध्ययन गरिने घटनास्थलमा पुगेका सहसचिव रिजालले बताए । ‘आगामी दिनहरूमा यस्ता खालका घटनाहरू के गर्दा दोहोरिँदैन, कसरी रोक्न सकिन्छ भन्ने विषयमा पनि हामी हेर्छौं,’ उनले भने ।

लेदोसहित खसेको पहिरो उच्च विन्दुसम्म पुगेर हेर्ने पनि उनले बताए । ‘सडकभन्दा माथिको ठाउँ जहाँबाट लेदो बगेको भनिएको छ, त्यहाँ हेर्छौं । साथै मृतक र बेपत्ताका आफन्तहरूसँग पनि कुराकानी गर्छौंं,’ उनले भने ।

पीडित परिवारले मृतकको शव अस्पतालमा गल्न थालेको गुनासो गरेका थिए । त्यसबारे अस्पताल प्रशासनले शव गृहलाई व्यवस्थित गराउनुपर्ने विषय उनले बताए ।

गृहमन्त्री रमेश लेखकले सोमबार पदभार सम्हाल्दै घटना कसरी भएको भन्ने विषयमा अध्ययन गर्न सहसचिव रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदललाई १० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । कार्यदलले घटना कसरी भएको, कसको कमी–कमजोरीले घटना भएको हो भन्ने विषयमा अध्ययन गर्ने सहसचिव रिजालले बताए ।

‘घटना कसरी भयो, कसको कमी–कमजोरीले भयो, सडक विभागको कमजोरी पो छ कि ! सवारी चालकहरूको लापर्बाही देखिन्छ कि ! आगामी दिनमा यस्ता घटना नदोहोरिन के गर्न सकिन्छ भनेर र मृतक परिवारलाई कसरी राहत दिन सकिन्छ भनेर पनि हेर्छौं,’ उनले भने ।

अहिलेलाई सिमलताल घटनालाई केन्द्रित भएर अध्ययन गर्ने र यस्तै प्रकृतिका खोला भएका ठाउँहरूको पनि पहिचानको प्रयास गर्ने उनले बताए ।