आज साउने संक्रान्ति । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ ।
साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ ।
परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । यसैलाई लुतो फाल्ने भनिन्छ ।
लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।
साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ ।
विवाहित महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।
भगवान शिवको पूजा गर्ने महिनाका रुपमा साउनलाई लिइन्छ । महिलाहरु हरिायो चुरा, हरियो पोते र हरियो सारी लगाएर सजिने गर्छन् । शिव भगवान प्रकृतिप्रेमी भएकाले पनि उनलाई खुशी तुल्याउन महिलाहरुले उनको आरधना गर्दा हरियो लगाउने चलन रहेको छ। साउनलाई शिवको महिना र सोमबारलाई शिवबार पनि भन्ने गरिन्छ । यो महिनाभर देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।