काठमाडौँ । समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले मङ्गलवार मोर्चाको बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए ।
मङ्गलवार दिउँसो ४ बजे एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बैठक बस्ने क्षेत्रीले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताबाट बाहिरिएपछि पहिलोपटक मोर्चाको बैठक बस्न लागेको हो ।
मोर्चामा ल्याउन विप्लवले जसपा नेपाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा मसाल लगायत दलहरूसँग परामर्श गरेको उनले जानकारी दिए ।
‘पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको हो । उहाँ (विप्लव) ले माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल लगायत दलहरूसँग परामर्श भइरहेको छ । बैठकले सडक सङ्घर्षका कार्यक्रम ल्याउने बारे एउटा निष्कर्षमा पुग्ला’, क्षेत्रीले भने ।
असार १७ गते राति दुई ठुला दल कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका प्रचण्डकै आग्रहमा प्रधानमन्त्री निवास बालुवाटारमा असार २६ गते मोर्चाको बैठक बसेको थियो ।
त्यस बैठकमा संविधान संशोधनमार्फत् प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै वामपन्थी एकतादेखि ध्रुवीकरण गरी सदन र सडक सङ्घर्षमा जाने सहमति गरेको थियो । एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा कांग्रेस, जसपा र लोसपा सहभागी भएको दुई तिहाइको सरकार गठन भइसकेको छ ।
गत वर्ष असार ४ गते माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा गरी चारदल मिलेर मोर्चा गठन गरेका थिए । मोर्चामा सहभागी दल जनता समाजवादी दल विभाजन भएपछि दुवै दल अहिले मोर्चाबाट बाहिरिएका छन् ।